KhabarUjyalo

डडेल्धुरा मेडिकल कलेज स्थापनाका लागि सहकार्य समिति गठन

५ असार २०७९, आईतवार
डडेल्धुरा मेडिकल कलेज स्थापनाका लागि सहकार्य समिति गठन

डडेल्धुरा, ५ असार । डडेल्धुरा मेडिकल कलेज स्थापनाका लागि अमरगढी नगरपालिकाका प्रमुख डिल्लीराज जोशीको संयोजकत्वमा समन्वय, सहकार्य समिति गठन गरिएको छ । 
समितिमा जिल्ला समन्वय समिति प्रमुख, राष्ट्रिय भूमि आयोगका अध्यक्ष, जिल्लास्थित सबै राजनीतिक दलका प्रमुख, प्रमुख जिल्ला अधिकारी, नापी, मालपोत, वन, स्वास्थ्य, शिक्षा समन्वय कार्यालयका प्रमुखहरु सदस्य रहेका छन् । सरकारले केही महिना अगाडि डडेल्धुरामा मेडिकल कलेज सञ्चालन गर्ने निर्णय गरेको थियो । 
नेपाल सरकारको आगामी आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रम बजेटमा डडेल्धुरामा मेडिकल कलेज स्थापनाका लागि आवश्यक पहल थालिने उल्लेख भएको छ । 
अमरगढी नगरप्रमुख जोशीको अध्यक्षतामा बसेको सर्वपक्षीय, सर्वदलीय बैठकले समिति गठनसँगै डडेल्धुरामा सुदूरपश्चिम विश्वविद्यालयको कार्यालय स्थापना र डिनको नियुक्त तत्काल गर्न हुन आग्रह, जिल्ला अस्पताल र जनस्वास्थ्य कार्यालयको नाममा रहेको जग्गा, भवन उपलब्ध गराउन आग्रह गर्ने निर्णय भएको अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए । 
सङ्घीय सरकारको मातहतमा रहेको डडेल्धुरा अस्पतालसँग १५३ रोपनी जमिन रहेको अस्पतालका मेसु चेतराज भट्टले जानकारी गराए । अस्पतालमा अहिले एक सय शैय्या रहेको उनले बताए । करिब दुई सय शैय्या सञ्चालनका लागि भवन एवं आवश्यक भौतिक पूर्वाधार निर्माणको काम अन्तिम चरणमा रहेको उनले बताए । 
मेडिकल कलेज स्थापना गर्न दुई सय रोपनी जग्गा आवश्यक पर्ने नेपाल सरकारको मापदण्ड रहेको सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति डा. अमराज जोशीले बताए । आगामी सय वर्षलाई  जग्गा उपलब्ध हुनुपर्ने र योजना अनुसार बनाउनुपर्ने उनले बताए । 
डडेल्धुरा बहुमुखी क्याम्पसका नाममा रहेको २२ कोठे भवनसहित ८४ रोपनी जग्गा रहेकाले उक्त जग्गा प्रयोगमा ल्याई कलेज स्थापना गर्न सकिने सुझाव दिइएको छ ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo