KhabarUjyalo

सुदूरपश्चिममा पनि नेपाल–खनाल समूहको समानान्तर कमिटी गठन

२५ चैत्र २०७७, बुधबार
सुदूरपश्चिममा पनि नेपाल–खनाल समूहको समानान्तर कमिटी गठन

धनगढी, २५ चैत । नेकपा एमालेको नेपाल–खनाल समूहले सुदूरपश्चिममा समानान्तर कमिटी गठन गरेको छ । धनगढीमा दुई दिनसम्म भएको उक्त समूहको प्रदेशको विस्तारित बैठकले भीम रावलको संयोजकत्वमा कमिटी गठन गरेको हो । रावल एमाले–माओवादी एकीकरणअघि एमालेको प्रदेश इन्चार्ज थिए ।

सर्वोच्च अदालतले एमाले–माओवादीलाई पूर्ववत् अवस्थामा फर्काएपछि प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले भीम रावललाई हटाएर माओवादीबाट गएका लेखराज भट्टलाई इन्चार्जको जिम्मेवारी दिएका छन् । नेकपा हुँदा पनि रावल इन्चार्ज थिए । संयोजक तोके पनि प्रदेश कमिटी कति सदस्यीय बनाउने भन्ने टुङ्गो लाग्न बाँकी रहेको बताइएको छ ।

एमाले प्रदेश कमिटी सदस्य दिनेशचन्द्र सुवेदीले जिल्लाबाट आएका नामहरु टुङ्गिएपछि प्रदेश कमिटीले पूर्णता पाउने बताए । बैठकले सुदूरपश्चिमका आठ वटा जिल्लामा जिल्ला अध्यक्ष पनि तोकेको उनले जानकारी दिए । कैलालीमा दीर्घ सोडारी, कञ्चनपुरमा तारा लामा तामाङ, डोटीमा चक्रबहादुर मल्ल, डडेल्धुरामा डा. तारा जोशी, अछाममा शेरबहादुर कुँवर, बैतडीमा महादेव भट्ट, बाजुरामा गगन रावल र बझाङमा दिलबहादुर सिंहलाई जिल्ला अध्यक्ष तोकिएको छ । 

दार्चुलामा भने जिल्ला अध्यक्ष पछि तोकिने नेपाल–खनाल समूहका एक नेताले बताए । बैतडी र बाजुराबाहेक अन्य छ जिल्ला अध्यक्ष पुरानै हुन् । नेपाल–खनाल समूहमा लागेपछि ओलीले उनीहरुलाई हटाएर आफ्नो पक्षीयलाई जिम्मेवारी दिएका छन् । बैतडी र बाजुरामा भने जिल्ला अध्यक्ष ओली पक्षमा लागेपछि नेपाल–खनाल पक्षले आफू निकटलाई अध्यक्षको जिम्मेवारी दिएको हो । 

जिल्ला अध्यक्षहरुलाई नै जिल्ला कमिटीलाई १५ दिनभित्र पूर्णता दिन बैठकले निर्देशन दिएको प्रदेश कमिटी सदस्य सुवेदीले बताए । खनाल–नेपाल पक्षधर नेताहरूले यसलाई समानान्तर समिति नभइ एमालेलाई व्यवस्थित गर्न समिति बनाएको भनेको छ ।

‘एमाले पार्टीलाई व्यवस्थित गर्न समिति गठन गरेका हौँ ।’ सुवेदीले भने, ‘दुई पार्टी मिलेर नेकपा बन्नुअघिकै प्रदेश इन्चार्ज र जिल्ला अध्यक्षलाई जिम्मेवारी दिइएकाले यी नै आधिकारिक समिति हुन् ।’ तत्काल प्रदेश र जिल्ला कमिटीलाई पूर्णता दिएर स्थानीय तह र भातृ संगठन पनि पुनर्गठन गर्ने तयारी रहेको नेपाल–खनाल पक्षका एक नेताले बताए ।

माओवादी केन्द्रसँग एकता हुनुअघि एमालेमा ७१ जनाको प्रदेश कमिटी थियो । नेकपा हुँदा प्रदेशमा १८३ सदस्यीय प्रदेश कमिटी बनेको थियो । नेपाल–खनाल समूहले प्रदेश कमिटी पनि अहिले १८३ सदस्यीयकै हाराहारीमा बनाउने तयारी गरेको छ ।

अध्यक्ष ओलीले नेता माधवकुमार नेपाल, भीम रावल, सुरेन्द्र पाण्डेय र घनश्याम भुसाललाई छ महिनाका लागि पार्टीबाट निलम्बन गरेका छन् । ओलीले विधि र विधान विपरित पार्टी कब्जा गर्न खोजेको भन्दै नेपाल–खनाल समूहले देशभर समानान्तर कमिटीहरु गठन गर्न थालेको छ ।   

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo