Khabar Ujyalo

म माथि बम प्रहार गर्ने साथीहरुलाई मैले गृहमन्त्री बनाएँ : प्रचण्ड

२४ चैत्र २०७७, मंगलवार
म माथि बम प्रहार गर्ने साथीहरुलाई मैले गृहमन्त्री बनाएँ : प्रचण्ड

रुकुम पश्चिम। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले माओवादी छोडेर एमालेमा गएको भन्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’माथि आक्रोश पोखेका छन् ।

३२ औं जनआन्दोलन दिवसका सन्दर्भ पारेर नेकपा माओवादी केन्द्रले मंगलबार रुकुम पश्चिममा आयोजना गरेको जन प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा अध्यक्ष प्रचण्डले भने, ‘मलाई गद्दार भन्नेहरूलाई पनि गल्ती स्वीकार गर्दै आएपछि मैले विश्वास गरेँ, ममाथि बम प्रहार गर्ने साथीहरुलाई मैले गृहमन्त्री बनाएँ, सायद मैले गल्ती गरेँ ।’

कार्यक्रममा आत्मालोचना गर्दै प्रचण्डले गल्ती नदोहोरिने प्रतिबद्धता जनाए । संगठनमा कुनै प्रभाव नै नभएका मानिसलाई स्थायी समितिमा राखेको भन्दै उनले त्यस्ता मानिस अन्ततः ‘बिकाउ’ साबित भएको बताए । रुकुमेली जनतालाई सम्बोधन गर्दै उनले भने, ‘म आत्मालोचना गर्न पनि तपाईहरु माझ आएको छु । सायद मैले गल्ती गरेँ । म अब त्यस्तो गर्दिनँ ।’

जनयुद्ध र जनआन्दोलनबाट प्राप्त उपलब्धिहरुलाई उल्ट्याउन ‘जाली फटाहा’, ‘प्रतिक्रान्तिकारी’ले प्रयास गरिरहेको भन्दै प्रचण्डले त्यसका विरुद्ध संघर्षका क्रममा आफूले जनताको साथ खोजेको बताए ।

जनताको बलमा त्यतिबेला प्रतिगमन रोकिए पनि जनताका उपलब्धि विरुद्ध षडयन्त्र अझै जारी रहेको उनले बताए । ‘देशभित्र र बाहिर अनेक षडयन्त्र र प्रपञ्च भइरहेको छ । हामी त्यसका विरुद्ध लडिरहेका छौं,’ उनले भने, ‘तर काठमाडौंमा बसेर लडेको लडाइले हामीलाई धेरै प्रतिफल दिएको छैन । जतिबेला जनताको गाउँघर, टोलमा पुगेका छौं, जनताको बलमा हामीले सफलता पाएका छौं ।’

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.