KhabarUjyalo

नेपालीका लागि अब मलेसियामा श्रम गर्न थप सुरक्षित

१९ फाल्गुन २०७७, बुधबार
नेपालीका लागि अब मलेसियामा श्रम गर्न थप सुरक्षित

काठमाडौ : वैदेशिक रोजगारीमा गएका नेपाली श्रमिकको श्रम सुरक्षाका लागि नेपाल र मलेसियाबीच मलेसियामा कार्यरत नेपाली श्रमिकलाई त्यहाँको सामाजिक सुरक्षा कार्यक्रममा सहभागी गराउने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यो हस्ताक्षरले मलेसियामा रहेका नेपाली श्रमिकको श्रम सुरक्षा सुनिश्चित हुनेछ ।

मलेसियामा रहेको नेपाली दूतावासको सक्रियतामा समझदारी पत्रको मस्यौदामाथि विभिन्न चरणमा छलफल पश्चात तयार भएको अन्तिम मस्यौदा माघ २६ गते बसेको मन्त्रिपरिषद बैठकले स्वीकृति प्रदान गरेको थियो ।

समझदारी भएको सामाजिक सुरक्षा संस्था मलेसियाको सामाजिक सुरक्षा ऐन अन्तर्गत गठन भएको संस्था हो । अहिलेसम्म लगभग ३ लाख नेपाली श्रमिकहरु यसमा आवद्ध भैइसकेको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।

संस्थामा आवद्ध हुन मलेसियाको रोजगारदाताले श्रमिकले उसले पाउने मासिक तलबको १ दशमलव २५ प्रतिशतले हुन आउने रकम मासिक रुपमा बुझाउनु पर्छ ।

मलेसियाको सामाजिक सुरक्षा संस्थामा आवद्ध भएका विदेशी श्रमिकले ‘इम्प्लोइमेन्ट इन्जुरी स्किम फर फरेन वर्कर’ नामको योजनामा सहभागी हुन पाउँछन् ।

यो योजना अन्तर्गत श्रमिकलाई कार्यस्थलमा हुने दुर्घटना वा कार्यस्थलका कारण कुनै रोग लागेमा त्यसबापत तोकिएको क्षतिपूर्ति पाउने छन् । यसैगरी मृत्यु भएका श्रमिकहरुको रोजगारदातालाई मलेसियामै वा श्रमिकको देशमा दाहसंस्कार गर्दा तोकिए बमोजिमको अन्त्येष्टि खर्चसमेत उपलब्ध गराउने व्यवस्था गरेको छ ।

नेपालको तर्फबाट वैदेशिक रोजगार बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठ र मलेसियाको तर्फबाट सामाजिक सुरक्षा संस्थाका प्रमुख कार्यकारी अधिकृत दातो श्री डा. मोहम्मद अज्मान विन दातो अजिज मोहम्मदले हस्ताक्षर गरेका हुन् ।

कोरोना महामारीको विश्वव्यापी सङ्क्रमणलाई मध्यनजर गर्दै समझदारी पत्रको आदानप्रदानमार्फत गएको ४ गते काठमाण्डौमा र १४ गते मलेसियामा हस्ताक्षर भएको हो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo