मेरो दौरा सुरुवालमा सामन्तको गन्ध आयो
कोट, टोपी , भोटो र कछाड धोतीले खायो।।
मेरो भाषामा पनि सामान्तिकै बासना आयो
मैथिली, भोजपुरी ,नेपाली,हिन्दिले खायो।।
सामन्तको गन्ध पखाल्ने,र बासना उडाउने
घडी डिटर्जेन्ट पाउडर किनेकै थियौ मालिकबाट
भित्ता मा टाँगेका जलाएर,उतारेकै थियौ सालिक बाट।।
यति गरेर नि चित्त बुझेन खुरापाती??
मेरा बाजेले पनि पहिरेका ती सबै
उनले पनि सिँहारेका हुन ती सबै
हलो समाउदा सिमोरेका बाउला
तमाखु उड्क्याउदै उमाल्दा ताउला।।
दुरुस्त त्यही सामन्ती पोषाक देखेको हुँ
सपनामा होइन बिपनामा।।
लालपुर्जा नभएका मेरा बाजे सामन्ती हुनु
र आफ्नो पहिचान सम्झी दौरा चोलो लाउनु
हिसाब बराबर हो भने खारेज गर उनको पहिचान
तामेलीमा राख बिरासत,कठघरामा उभ्याउ मेरो सान
जे गर्छौ गर तर म भन्न छोड्न सक्दैन
।। जय!स्वाभिमान ।। मेरो स्वाभिमान ।।
साहित्यकार धर्मराज जोशी