
बैतडी । बैतडीका पाटन विमानस्थल एक वर्षदेखि ठप्प रहेको छ । गतवर्षको चैत १० गते समिटएयरले उडान भरेयता कुनै पनि उडान हुन सकेको छैन । यात्रु अभावको कारण देखाउँदै चैत १० गतेयता उडान नभरेको समिट एयरले अब उडान नभर्ने बताइसकेको छ ।
यात्रु नभएकै कारण समिट एयरले धनगढी–पाटन उडान लगभग स्थगित गरिदिएको समिट एयरका बैतडी प्रतिनिधि कृष्णदत्त भट्टले जानकारी दिए ।
भाडा बढेकाले पनि यात्रुहरू पाउन छाडेपछि उडान नभरेको उनले बताए । पाटनदेखि धनगढी पुग्न १७ मिनेटको हवाई यात्रा छ । भाडा भने ५ हजार तोकिएको छ । समिटले यसअघि प्रत्येक बिहीबार उडान भर्दै आएको थियो ।
नियमित रूपमा यात्रुहरूले नपाउँदा समिट एयरलाइन्सले उडान भर्न छोडेको धनगढी विमानस्थलका प्रमुख रामकृष्ण भट्टले बताउँछन् ।
द्वन्द्वकालका बेला विमानस्थलका संरचनामा आगजनी गरी ध्वस्त भएपछि २०५२ सालयता पूर्णरूपमा विमानस्थल बन्द रहेको थियो । २६ वर्षपछि २०७७ असोज १७ गते समिट एयरले नै परीक्षण उडान गरेको थियो ।
सोही दिन तत्कालीन पर्यटनमन्त्री योगेश भट्टराईले बैतडीको पाटनसहित डोटीको दीपायल र बझाङको देवल विमानस्थलको उद्घाटन गरेका थिए । विमानस्थल उद्घाटन समारोहमा बोल्दै तत्कालीन मन्त्री भट्टराईले सुदूर पहाडमा नियमित उडान हुने बताएका थिए ।
नियमित उडान नहुने र भाडा पनि महँगो भएको हुनाले यात्रु पाउन मुस्किल हुने गरेका सेवाग्राहीको भनाइ छ । भाडा समायोजन गरी यात्रुहरूको सहजताका लागि नियमित उडान भर्नुपर्ने स्थानीयको माग छ ।
