धनगढी,फागुन १४
कैलालीको गोदावरी नगरपालिका ११ ओलानीमा होली विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । सुदूर पश्चिमाञ्चल बहुउद्देश्यीय मञ्च धनगढीको आयोजनामा होलीको अवसरमा गोदावरी नगरपालिका वडा नं ११ ओलानी स्थित श्री सरस्वती मा.वि.को प्राङ्गणमा होली विशेष कार्यक्रम सम्पन्न गरेको हो ।
उक्त कार्यक्रममा विभिन्न स्रष्टा एवम् व्यक्तित्वहरूलाई पुरस्कार एवम् सम्मान समेत गरिएकोे छ । कार्यक्रमका प्रमुख अतिथि सु.प.प्रदेश सरकाका माननीय सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले सम्मानित एवम् पुरस्कृत व्यक्तिहरूलाई पुरस्कार एवम् सम्मान पत्र प्रदान गरेका छन् ।

सुदूर पश्चिमाञ्चल बहुउद्देश्यीय मञ्चले विगत आठ वर्षदेखि प्रदान गर्दै आएको परिमल स्नेही राष्ट्रिय डेउडा प्रतिभा पुरस्कार यस वर्ष डेउडा गायक अन्तराम विष्टलाई प्रदान गरेको छ । त्यसैगरी ‘हेम मल्ल स्मृति’ आम सञ्चार पुरस्कार, महाकाली एफ. एम. महेन्द्रनगर कञ्चनपुरबाट प्रसारण हुने डोटेली भाषाको कार्यक्रम हुक्का–चिलिमका प्रस्तोता ओमप्रकास ओझालाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशी रू. ११ हजार एक सय एघार सहित सम्मान पत्र तथा दोसल्ला रहेको छ ।
स्व.हेम मल्ल दिनेश एफ. एम.धनगढीमा डोटेली भाषाको कार्यक्रम प्रस्तोताको रूपमा रही डोटेली भाषा संरक्षणमा योगदान पु¥याउने व्यक्ति हुन् भने परिमल स्नेही वि. स. २०१६ सालमा रेडियो नेपालमा पहिलो पटक डेउडा गीत गाई विभिन्न सञ्चार माध्यममार्फत र गीत रेकर्ड गराई डेउडा गीतको उन्नयनमा योगदान पु¥याउने व्यक्ति हुन् ।
त्यसैगरी कार्यक्रममा समाजसेवी दण्डिराज जोशी र उहाँका धर्मपत्नी भागरथी देवी जोशीको नाममा उहाँका छोराहरू एन.के.जोशी र कृष्णराज जोशीद्वारा स्थापित डण्डिराज–भागरथी समजसेवा पुरस्कार धनगढी निवासी वरिष्ठ समाजसेवी लक्ष्मीराज पन्तलाई र दण्डिराज भागरथी आदर्श सम्मान धनगढी निवासी समाजसेवी श्याम सुन्दर तायल र उहाँकी धर्मपत्नी रञ्जना तायललाई प्रदान गरिएको छ । त्यसैगरी संस्थाले अत्तरिया निवासी समाजसेवी एवम् शिक्षा क्षेत्रको उन्नयनमा महत्वपूर्ण योगदान पु¥याउने व्यक्तित्व श्री पुष्पराज जोशी समाजसेवी एवम् संस्कृतिकर्मी मदनराज पाण्डेय, हरिलाल गिरी, प्रसिद्ध डेउडा गायक भुवनप्रसाद दाहाल र ध्वज महरालाई सम्मान गरेको छ । त्यस्तै गोदावरी नगरपालिका वडा नं ११ र १२ का समाजवादी कर्णसिंह बडैला, लोकबहादुर कोली र राधिका जोशीलाई सम्मान पनि गरिएको छ ।
संस्थाका अध्यक्ष श्री लालबहादुर खड्काको सभापतित्वमा सुरु भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य संस्थाका उपाध्यक्ष देवराज भट्ट(काजी)ले दिएका थिए । कार्यक्रमको सञ्चालन संस्कृतिकर्मी एन.के.जोशीले गरेका थिए । प्रसिद्ध लोक गायक अन्तराम बिष्ट, भुवन दाहाल, ध्वज महरा, सुरेन्द्र संगम लगायतको बेजोड प्रस्तुर रहेको कार्यक्रममा हजारौँ जनसमुदायको उपस्थिति रहेको थियो ।
