धनगढीः कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्टस अवार्डको आज हुदैछ। दोस्रो पटक आयोजना हुन लागेको सुदूरपश्चिम स्पोर्टस अवार्डका आज दिउसो २ बजेदेखि ओम प्यालेसमा ९ विधामा अवार्ड प्रदान गरिदैछ । प्रमुख अतिथी मुख्यमन्त्री त्रिलोचन भट्ट रहने भएका छन् ।
खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा शुक्रबार धनगढीमा हुने स्पोर्टस अवार्डको तयारी पूरा भएको हो। मञ्चका कोषाध्यक्ष हरी जोशीका अनुसार अवार्डको मनोनयनमा परेका खेलाडी धनगढी पुग्ने क्रम जारी छ।
धनगढीमा हुने दोस्रो सुदूरपश्चिम स्पोर्टस अवार्डको मुख्य प्रायोजक धनगढीको कैलाली अस्पताल रहेको छ। सुदूर फुड ईन्डष्ट्रिज, ब्राईटवे पब्लिक स्कुल, मेरो रेडिमेड उद्योग र घोडाघोडी हस्पिटल सह–प्रायोजक रहेको अवार्डमा बर्ष पुरुष खेलाडीलाई नवजीवन अस्पताल, वर्ष महिला खेलाडीलाई नोभा अस्पताल, पिपुल च्वाईस अवार्डलाई वनदेवी युवा क्लब र बर्ष युवा खेलाडीलाई निसर्ग अस्पतालले प्रायोजन गरेको छ।
त्यसैगरी स्पेशल अवार्डलाई न्यू सिटी पोलीक्लिनिक, लाईफटाईम एचिभमेन्ट अवार्डलाई सारथी अस्पताल, सुदूरपश्चिम आईकन पुरुषलाई माया मेट्रो अस्पताल र महिलालाई तिवारी मेडिसिनले प्रायोजन गरेका छन्।
अवार्डको प्रवद्र्धकमा धनगढी उपमहानगरपालिका र सुदूरपश्चिम सरकारको सामाजिक विकास मन्त्रालय रहेको छ। नवजीवन सहकारी संस्था लिमिटेड को–अपरेटिभ्स पार्टनर र ओसन पब्लिकेसन एजुकेसन पार्टनरको रुपमा रहेको छ। धनगढी बसपार्कमा रहेको मिश्रा जनरल स्टोर र एलएनचोकमा रहेको शम्भु पुस्तक भण्डारले पनि अवार्डलाई सहयोग गरेको छ।
अवार्डमा वर्ष २०७६ मा गरेको प्रदर्शनका आधारमा उत्कृष्ट पुरुष खेलाडी, उत्कृष्ट महिला खेलाडी, उत्कृष्ट युवा खेलाडी, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट पारा खेलाडी र वर्षको उत्कृष्ट टिम तथा खेलकुदमा पुऱ्याएको विशेष योगदानको कदर स्वरुप स्पेसल अवार्ड, पूरा जीवन खेलकुदमा समर्पित गर्ने एक पाका खेलकर्मीलाई लाइफटाइम अचिभमेन्ट अवार्ड, समर्थकको मतका आधारमा दिइने पिपल्स च्वाईस अवार्ड गरी ९ विधामा खेलाडी तथा खेलकर्मीलाई पुरस्कृत गरिनेछ।
अवार्डको उत्कृष्ट खेलाडी पुरुष र महिला, उत्कृष्ट प्रशिक्षक र पिपल्स च्वाइस अवार्ड गरी ४ विधाका विजेतालाई नगद ३० हजार सहित ट्रफी मेडल र प्रमाणपत्र, वर्ष युवा खेलाडी, स्पेसल अवार्ड, लाईफ टाईम एचिभमेन्ट अवार्डका विजेताहरूलाई नगद २५ हजार सहित ट्रफी मेडल र प्रमाण पत्र दिईनेछ।
यस्तै सुदूरपश्चिम आईकन महिला र पुरुष विधाका विजेतालाई नगद २० हजार सहित ट्रफी मेडल र प्रमाणपत्रका साथै विभिन्न विधाका विजेतालाई गिफ्ट ह्याम्पर प्रदान गरिने आयोजकले जनाएको छ। अवार्ड कार्यक्रम डिसहोम एक्सन स्पोर्टस र धनगढीका स्थानीय संचार माध्यमबाट प्रत्यक्ष प्रसारण गरिने बताईएको छ। कार्यक्रम धनगढीको ओम प्यालेसमा आयोजना हुनेछ।