९ जेष्ठ २०७९, सोमबार

मैले भेटेकी हतौडावाली !

२४ फाल्गुन २०७७, सोमबार
[Sassy_Social_Share]
मैले भेटेकी हतौडावाली !

अच्यालको अछाम

पहरै पहरा भएको मध्यपहाडी लोकमार्गको मंगलसैन-पञ्चदेवल सडक खण्डमा पर्ने लामकाटा आसपासको एक पहरो।

सदरमुकामबाट टाढाको त्यो पहरो आसपास एकतमासले देउडा संगीतको लहरो गुन्जिरहेको छ।

गाई गयो गोर्‍याट्टी, गाई गऽऽऽयो गोऽऽऽर्‍याट्टी, बऽऽऽल्ल गयो बाटैबाट।

डोटीकी छोर्‍याट्टी, डोटीऽऽऽकी छोऽऽऽर्‍याट्टी, अऽऽऽछाम लैजादो भया।

सुनसान ठाउँ भएकाले मोबाइलको ध्वनी परसम्म सुनिँदो छ। उहिलेउहिले बम्बईया ‘लाहुर्‍या’ ले काँधमा झुन्ड्याएर ल्याउने पानासोनिक टेप ‘रिकर्डर’ मा क्यासेट घन्काउँदा पनि यी पहराहरूमा नन्दकृष्ण जोशी, यज्ञराज उपाध्यायका देउडा गीतका ध्वनी तरंगहरू यसैगरी ठोक्किँदा हुन्।

समय फेरिएको छ। पहिले काँधमा बोक्नु पर्ने प्रविधि अहिले गोजीमै अटाउनेगरी फेरिएको छ। तर के गर्नु, बम्बई जाने प्रवृत्ति फेरिएको नाइँ। ‘लाहुर्‍या’ बन्नु पर्ने धेरै अछामीको कर्म फेरिएको नाइँ। जसको पुष्टि लकडाउनयता अछामका बीस हजारभन्दा बढी मानिस भारतबाट फर्किनु र अझै पनि हजारौं उतै हुनुले गरेको छ।

हत्केला जत्रो नेपालको भूगोलमा खोज्नु मात्र पर्छ, गरिबी र पीडाका विचित्र चित्र र चलचित्र जहाँतहीँ भेटिँदा छन्। बस, स्वरूप फरक पर्न सक्छ। भूगोल सुन्दर र मानिसहरू सहृदयी भएर मात्र गरिबी र अभाव नभाग्ने रहेछ। भौगोलिक सुन्दरताका बाबजुद केही सामाजिक कुरूपता रहेको अछामले यही प्रमाणित गरेको झैं लाग्छ।

अँ साँच्ची! मोबाइलमा बजिरहेको गीत ट्वाक-ट्वाक आवाजले रिमिक्स भएजस्तो लाग्छ। कालोपत्रे सडक छेउ गिट्टीको थुप्रोमाथि बसेर एक महिलाले गिट्टी फुटाइरहँदाको आवाज हो त्यो। गिट्टी फुटाउने सबै महिला छन् जसमा एक जना अरूभन्दा खास छन्।

हातमा सानो हतौडा। गिट्टी छेउ एउटा मात्र चप्पल। सायद अर्को चप्पल ओछ्याएर उनी त्यसैमाथि बसेकी हुनुपर्छ। माथि पहरो छ, जहाँबाट ठूलाठूला ढुंगा सडकमा झर्छन्। उनले तिनै ढुंगा फुटाएर गिट्टी बनाएर बेच्छिन्।

तल ठूलो भीर छ, डरको मर्नु। गिट्टी कुट्ने महिलाको काम मात्र होइन कार्यस्थल पनि जोखिमपूर्ण छ। तर पनि के गर्नु? गिट्टी कुटेरै कुदिरहेछ जिन्दगीको गाडी– कहिले सुस्त गतिमा, त कहिले ‘ब्याक गियर’मा।

ज्यानमा केवल हड्डी र छाला। घाँटीमा एउटा रातो पत्थरको टिमिक्क परेको र अर्को कालो सेतो दाना भएको लामो ‘कम्पनी माला’। दुवै हातमा एक-एक दर्जन चुरा र बाला। कपालको जुरो बनाएर तालुमाथि एउटा ‘क्लिप’ ले बाँधेकी। हरियो ब्लाउज, रातो सारीमाथि, पहेँलो पटुकीले कम्मर टिमिक्कै कसेकी। चिउँडोमा कालो कोठी भएकी। नाकमा मुन्द्री र फुली गज्जबै सुहाएकी। कानमा मसिनो सुन झुन्ड्याएकी। दुवै हातको माझी औंलामा चाँदीको औंठी लगाएकी। हातमा हतौडा समाएकी। हतौडावाली।

हतौडावाली गंगा आउजी हुन्। उमेर आफैंलाई थाहा छैन रे।

भन्छिन्, ‘४०-५० बस्स (वर्ष) भइग्या।’

दायाँ हातले समाएको काठको बिँड भएको हतौडा ठोक्दा ठोक्दा थेप्चिएर लाम्चोबाट डल्लो हुन लागेजस्तो। बेलाबेलामा हतौडा नफुस्कियोस् भनेर बिँड ढुंगामा ठोक्छिन्। बिँड पनि बुच्चिँदै गएको छ।

कोरोना भाइरसबाट सुरक्षाका लागि मास्क, स्यानिटाइजर, पन्जा त एकादेशका कुरा भइगयो हतौडावालीका लागि। हातको सामान्य सुरक्षाका लागि कुनै सुरक्षा उपाय र सावधानी समेत छैन।

गल्तीले हतौडा औंलामा ठोक्किँदा सुन्निएको औंलो उठाएरै बाँकी काम गरी होलिन्। अब उपरान्त ठोकिए पनि त्यसै गर्लिन्।

घर कहाँ नि तपाईंको?

‘त्याही तल। क्या घर भन्नु? नाऽऽऽऽप (सानो) आटी (झुपडी) लायाको छ। त्यै पन चुँदो छ।’

को-को बस्नु हुन्छ त?

‘मु सात (सँग) छोरो छ। नानु (सानो), १२ वर्षको। १८ वर्षकी ब्वारी छ। नानी (सानी) बिहा अरी आयाकी हो।’

अनि श्रीमान?

‘इन्डिया, बम्बई छन्। अख्खो (अर्को) बिहा गरेर बस्याका छन् अरे।’

के नाम हो श्रीमानको?

‘शेर्‍या आउजी।’

ए, अब आउँदैनन् त श्रीमान?

गंगा मुन्टो हल्लाउँदै नआउने संकेत गर्छिन्।

छोराछोरी होलान् नि त?

‘तीन छोराछोरी छिया (थिए)। एक छोरो रेलगाडी नि पुडो मर्‍यो। रेलका लिकमा काटियो अरे। एक छोरी छि (थिई)– तली पोइल बाइगई (गई हाली)। अब त्यै एक छोरोमात्त छ साथमा।’

सहयोग गर्न कोही आएनन् त? संघसंस्था, नगरपालिका?

‘नाइँ। कोइ आयाका नाइँ। ठूला मान्छे यई बाटो भइकन हिँड्दा छन्। सरकार पनि कहिलेकाँही यई बाटबाटी हिँड्दो छ भन्दाछन्। तर अइलसम्म न संस्था, न सरकार, कसैले केइ सहयोग गर्‍याको आछिन (छैन)। को हेद्दा हुन् हजुर हामी गरिबलाई। यई गिट्टीको सहारा हो।’

कति कमाउनु हुन्छ त, गिट्टी कुटेर?

‘दुई। दुई हजार। अम्म्म्म, दुई हजार ५ सय। सात–आठ दिनमा पैसा दिँदाछन्।’

ए, दिनभरी काम गर्दा तीन सय जति मात्र पो!

श्रमको मूल्य पनि नपाउने रैछन्। पीडाका पहाडै बोक्नुपरेको रहेछ हतौडावालीले।

श्रीमानले छाडेर अर्कै घरजम गरिसके। छोरो सानै छ। बालविवाह गरेर ल्याएकी बुहारी १८ वर्षमै विधवा भइसकिन्। हेरचाह गर्ने कोही छैन। खेतीपाती गर्न जग्गा जमिन छैन। घर खर्च चलाउन अरू आम्दानी छैन। यही भित्तोका ढुंगा कुटेर गिट्टी बनाउँदै जिन्दगी चलाउनु पर्छ।

अब उनको गरिबीको रोदन र पीडा सुन्ने त्यही पहाड हो जसले सायद उनीजस्ता सयौं गंगाका पीडा सुन्दै आएको छ।

गंगा आउजीको जिन्दगी त्यही हतौडाले थेगेको छ। जीवनमा आइसकेका कति पीडा त झेलिसकिन्, अब आउने पीडालाई पनि हतौडाले गिट्टी फुटाएझैं फुटाएर अगाडि बढ्नु पर्नेछ। उनको भागमा खुसी छैन। जति हतौडा हान्दा पनि नफुट्ने ढुंगा गंगाले चाङबाट झिकेर पर उछिट्याए जस्तै सायद दैवले पनि गंगाको भागबाट खुसी टाढा उछिट्टियाइदिएको छ।

तर पनि मुस्कुराउन खोज्छिन्।

निर्दोष कुरा गर्ने, मनमा कुनै पाप, लोभ, लालच नभएकी हतौडावालीका रहरहरू, मुस्कान, शृंगार र कुरा गराई सुन्दा जो कोहीलाई लाग्दो हो, जीवन सामान्य मात्रै हुँदो हो भने पनि उनी संसारकै खुसीमध्येकी एक महिला हुने थिइन्।

तर, गरिबी र पीडा उनको छाया नै भइसकेकाले मुश्किल छ उनका रहरहरू पूरा हुन। मुश्किल छ मुस्कान खुल्न। उनका रहरहरू एकएक मर्दै गएकाले रहरमै सीमित भएका छन् सायद।

हतौडावाली गंगा प्रतिनिधि पात्र हुन्। मंगलसैन मात्र होइन, अछामका पहाडी निर्माणाधीन राजमार्ग छेउछाउ र विकासोन्मुख सहरहरू आसपास थुप्रै गंगाहरू छन्, यसरी नै हतौडाको भरमा जीवन गुजार्ने।

अछाम मात्रै हैन, प्रायः सबै पहाडका भीर-पहरामा गंगाहरू छन्।

गंगाहरू गिट्टी मात्र फुटाउँदैनन्। हतौडा मात्र चलाउँदैनन्। नदी किनारमा बालुवा पनि छान्छन्। दिनहुँ ‘लेबर’ बनेर श्रम बेच्छन्।

खोज्नु मात्र पर्छ, गंगाहरू जहाँतही भेटिन्छन्।

(लेखक उपाध्याय जिल्ला प्रशासन कार्यालय, अछामका प्रमुख जिल्ला अधिकारी हुन्।) सेतोपाटिबाट

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo