काठमाडौं । पहिरो रोकथामका बाँकी काम सम्पन्न गर्न नारायणगढ–मुग्लिन सडकखण्ड दिउँसो एक हप्ताका लागि बन्द गरिने भएको छ ।
भोलिदेखि २९ गतेसम्म एक हप्ता दिउँसो सडक बन्द गर्न लागिएको हो ।
नारायणगढ–मुग्लिन सडक आयोजनाले सूचना जारी गर्दै सडकखण्डअन्तर्गत चारकिलोमा पहिरो रोकथामका आवश्यक बाँकी काम सम्पन्न गर्न सडक बन्द गर्न लागिएको जनाएको छ ।
सडकखण्डमा बिहान साढे १० देखि दिउँसो ३ बजेसम्म दुईतर्फी आवागमन बन्द रहने आयोजनाका इन्जिनीयर सविना रानाभाटले जानकारी दिनुभएको छ ।
उहाँले अत्यावश्यक सेवाबाहेक सबै सवारी साधन रोकिने बताउनुभएको छ । यही असार पहिलो हप्ता पहिरोले बगाएको क्षेत्रमा काम गरिने रानाभाटले जानकारी दिनुभयो ।
सडकखण्डमा ८५ प्रतिशत पहिरो रोकथामको काम सकिएको आयोजनाले जनाएको छ । सो अवधिमा नारायणगढतर्फबाट गएका सवारीसाधनलाई जलबिरेमा र मुग्लिन तर्फबाट आएका सवारीसाधनलाई शान्ति बजारमा रोकिने छ ।
उक्त अवधिमा वैकल्पिक सडकमार्ग प्रयोग गर्नसमेत नारायणगढ मुग्लिन सडक आयोजनाले अनुरोध गरेको छ । रासस