KhabarUjyalo

इन्द्रेणीबाट निकालिएका पाँच कलाकार र कृष्ण कँडेलबीच सहमति

११ फाल्गुन २०८०, शुक्रबार
इन्द्रेणीबाट निकालिएका पाँच कलाकार र कृष्ण कँडेलबीच सहमति

काठमाडौँ । इन्द्रेणीबाट निकालिएका ६ जनामध्ये ५ कलाकारको सञ्चालक कृष्ण कँडेलसँग समझदारी भएको छ । कँडेलसँग दुई दिन वार्ता गरेपश्चात उनीहरूले लिखित सहमतिमा हस्ताक्षर गरेका छन् ।

बिहीबार राति सहमतिमा हस्ताक्षर भएको स्रोतले बताएको छ । दुवै पक्षले एक-अर्काविरुद्ध कुनै पनि सार्वजनिक अभिव्यक्ति नदिने प्रतिबद्धता सहमति पत्रमा गरिएको छ । निकालिएका कलाकारहरूले चाहेमा इन्द्रेणीमा फर्काउन कँडेल तयार भएका छन् । तर, कलाकारहरूले तत्काल नफर्किने बताए । कँडेलको विरुद्धमा धेरै कुरा बोलेकाले अहिले फर्किँदा अप्ठेरो पर्न सक्ने उनीहरूको भनाइ थियो ।

इन्द्रेणीबाट शर्मिला श्रेष्ठ, लक्ष्मीप्रसाद घिमिरे, पूर्णप्रसाद कँडेल, जीवन टन्डन र थप दुई जना निकालिएका थिए । उनीहरूले एकसाथ फेसबुक लाइभ आएर कँडेलमाथि विभिन्न आरोप लगाएका थिए । ऊनीहरूमध्ये शर्मिला श्रेष्ठले कँडेलले आफूलाई यौन दुर्व्यवहार गरेको दाबी समेत गरेकी छन् ।

यस्तो आरोपको प्रतिवादमा कँडेलले पनि पत्रकार सम्मेलन गरेका थिए । उनले अदालतमा मानहानिको मुद्दा पनि दिएका छन् । सो मुद्दा परेपछि निकालिएका कलाकारहरू कँडेलसँग सम्झौतामा आउन तत्पर भएका हुन् ।

अस्ति र हिजो दुई पक्षबीच वार्ता भएको थियो । तर वार्तामा बोलाइए पनि शर्मिला भने आइनन् । बरु उनले हिजो फेरि एक्लै पत्रकार सम्मेलन गरेर कँडेलमाथि थप आरोप लगाएकी छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo