KhabarUjyalo

आज नेपाल नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै !

५ फाल्गुन २०८०, शनिबार
आज नेपाल नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दै !

काठमाडौँ । आईसीसी विश्वकप लिग २ त्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले दोस्रो खेलमा आज पाहुना टोली नेदरल्यान्ड्ससँग प्रतिस्पर्धा गर्दैछ । खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा नेपाली समयअनुसार ९:१५ बजेदेखि सुरु हुनेछ ।

नेपालले नेदरल्यान्ड्स र नामिबियासँग घरेलु मैदानमा त्रिदेशीय शृङ्खलाबाट आईसीसी विश्वकप लिग–२ (२०२३–२०२७) को सुरुवात गर्न लागेको हो । नेपालले यो त्रिदेशीय शृङ्खलामा कूल चार खेल खेल्नेछ । पहिलो खेलमा बिहीबार नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ । नेपालले प्रस्तुत गरेको १ सय ३३ रनको लक्ष्य नामिबियाले ३३.१ ओभरमा ६ विकेटको क्षतिमा पछ्याएको थियो ।

लिग–२ शृङ्खला सन् २०२७ सम्म चल्नेछ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) का अनुसार, लिग–२ शृङ्खलामा आठ राष्ट्र सहभागी हुनेछन् । पहिलो संस्करणमा सातवटा राष्ट्र मात्र सहभागी थिए ।

लिग–२ शृङ्खला सन् २०२७ मा आयोजना हुने आईसीसी एकदिवसीय विश्वकपको छनोट प्रतियोगिता पनि हो । सन् २०२७ को विश्वकप दक्षिण अफ्रिका, जिम्बाबे र नामिबियामा आयोजना हुँदै छ । यसपटक लिग–२ प्रतियोगितामा नेपाल, नामिबिया  र नेदरल्यान्ड्सका अतिरिक्त क्यानडा, ओमन, स्कटल्यान्ड, संयुक्त अरब इमिरेट्स (यूएई) र अमेरिका पनि छन् ।

यसअघि सम्पन्न आईसीसी क्रिकेट वर्ल्ड कप सुपर लिग अंक तालिकाको सबैभन्दा तल (१३औँ स्थान) रहेको नेदरल्यान्ड्सलाई भने पछि लिग–२ मा थपिएको हो ।

घरेलु मैदानमा आयोजना हुने लिग–२ को पहिलो शृङ्खलाका लागि नेपाल क्रिकेट संघ (क्यान) ले रोहितकुमार पौडेलको कप्तानीमा आफ्नो अन्तिम टोलीको घोषणा गरेको छ । क्यानले घोषणा गरेको टोलीमा यू–१९ टोलीका कप्तान देव खनाल र अनिलकुमार शाहलाई पनि समेटिएको छ । लिग–२ शृङ्खलाका लागि यसअघि घोषित टोलीमा यी दुईलाई समेटिएको थिएन ।

क्यानडाविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृङ्खलामा अनिलले एक शतक र एक अर्धशतक प्रहार गरेका थिए । उक्त शृङ्खलाको दोस्रो खेलमा देवले पनि उत्कृष्ट अर्धशतकीय पाली खेल्दै ७६ रन बनाएका थिए ।

लिग–२ शृङ्खलाका लागि घोषित नेपाली टोलीमा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भर्तेल, कुशल मल्ल, अनिल साह, आरिफ शेख, पवन सर्राफ, भीम सार्की, देव खनाल, दीपेन्द्रसिंह ऐरी, गुलसन झा, सोमपाल कामी, करण केसी, ललित राजवंशी र सूर्य तामाङ रहेका छन् ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo