काठमाडौं: ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको भ्यानबाट लडेर प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको छ ।
गए राति ११ः१५ बजे ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ नम्बरको गाडीबाट लडेर एलजीको मृत्यु भएको हो ।
सतुंगल नजिकै कोठामा जाँदा ओर्लिने बेला पछाडिबाट सडकमा खस्दा मृत्यु भएको प्रारम्भिक जाँचमा देखिएको छ ।
उनलाई तत्काल उद्धार गरेर नजिकै रहेको मिड पोइन्ट अस्पताल र त्यसपछि बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पताल लगिएको थियो । अस्पतालमा नै चिकित्सकहरुले मृत्यु भएको घोषणा गरे ।
हेमराजको शवलाई पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । भ्यानका चालक सहायक हवल्दार रामप्रसाद यादवलाई नियन्त्रणमा लिइएको छ ।