काठमाडौं । नेकपा नेता महेश बस्नेतले मुलुकलाई समीकरणको दिशाबाट एकीकरणको दिशामा लग्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् । सर्वोच्च अदालतले संसद् पुन:स्थापनाको फैसला गरेसँगै उनले ओलीसँग अझै राजनीतिमा प्रभाव जमाउने अवसर रहेको बताएका हुन् ।
उनले भनेका छन्, “केपी ओलीको वरिपरि आज पनि नेपालको राजनीति घुमिरहेको छ । एक गोल पोलमा लागेर फर्किएको छ । नयाँ गोल हान्ने चान्स तपाईंकै हातमा छ ।”
विभाजनकारीलाई एकताको प्रक्रियामा फर्काउन आग्रह गर्दै उनले भनेका छन्, “पद, पैसा र प्रतिष्ठाका लागि मरिहत्ते गर्नेलाई सदाचारको बाटोमा हिँडाउनुहोस् । राजनीतिलाई विकृति र विसंगतिमुक्त बनाउनुहोस् ।”
सर्वोच्च अदालतको फैसलालाई अनपेक्षित भन्दै उनले अढाइ दशकअघिको घटनाक्रम दोहोरिने शंका गरेका छन् । उनले फेसबुकमा लेखेका छन्, “विसं २०५२ सालमा तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीको सरकारको संसद् विघटन गरी निर्वाचनमा गएको प्रक्रिया सर्वोच्चले खारेज गरेकामा राजनीति १ दशकसम्म अस्थिरता र विकृतिमा फसेको थियो ।” जिम्मेवार नेतृत्वले त्यो कुरा ध्यान दिएर सुझबुजपूर्ण कदम चाल्ने विश्वास उनको छ ।