KhabarUjyalo

आज सन्दीपको मुद्दामा सर्वोच्चले सुनुवाइ गर्दै

१४ फाल्गुन २०७९, आईतवार
आज सन्दीपको मुद्दामा सर्वोच्चले सुनुवाइ गर्दै

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको मुद्दालाई लिएर सर्वोच्च अदालतमा परेको पुनरावेदनमा सर्वोच्च अदालतले आइतबार सुनुवाइ गर्दै छ। जाहेरवालाका तर्फबाट महान्यायाधिवक्ता कार्यालय र सन्दीपले गरेका पुनरावेदन दुवैलाई एकै ठाउँमा राखेर सुनुवाइ हुन लागेको हो।

यसअघि पाटन उच्च अदालतले सन्दीपलाई २० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेपछि महान्यायाधिवक्ता कार्यालय सर्वोच्च पुगेको थियो। बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालत काठमाडौंको आदेशविरुद्ध सन्दीपले गरेको पुनरावेदनमा उच्च अदालतले उक्त आदेश गरेको थियो।

पाटन उच्च अदालतले सन्दीपलाई विदेश जान पनि रोक लगाएको छ। सन्दीपलाई थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्नुपर्ने माग महान्यायाधिवक्ता कार्यालयको छ। यता सन्दीपले आफूलाई विदेश जान खुला गर्नुपर्ने भन्दै सर्वोच्चमा निवेदन दिएका थिए। उच्च अदालत पाटनकै आदेशका कारण सन्दीप विश्वकप लिग(२ अन्तर्गत यूएईमा सोमबारदेखि सुरु हुने त्रिदेशीय शृङ्खलाका लागि नेपाली टोलीमा छैनन्।

धरौटीमा छुटेयता उनले नेपाली टोलीबाट पुनरागमन गर्दै विश्वकप लिग-२ कै त्रिदेशीय शृङ्खलामा शानदार प्रदर्शन गरेका थिए। उक्त शृङ्खलामा उनले सर्वाधिक १३ विकेट लिएका थिए।

विश्वकपको विश्वस्तरको छनोट र एकदिवशीय अन्तर्राष्ट्रिय मान्यताका लागि महत्त्वपूर्ण रहेको यूएई शृङ्खलामा सन्दीपको अनुपस्थिति नेपालका लागि महँगो हुन सक्ने भन्दै नेपाल क्रिकेट संघ(क्यानले समेत चिन्ता व्यक्त गरिरहेको छ। सन्दीपले अन्तरकालीन आदेश माग गर्दे दिएको पुनरावेदनमा शुक्रवार सर्वोच्च अदालतमा प्रारम्भिक सुनुवाइ भएको थियो।

आदेश ढिलो आए यूएई शृङ्खलामा उनी खेल्न नपाउने र नेपाललाई घाटा हुन सक्ने तर्क गरिएपनि न्यायाधीश ईश्वरप्रसाद खतिवडाले अन्तरकालीन आदेश दिन मानेनन् तर अग्राधिकारसहित आइतबारकै लागि सुनुवाइको पेशी तोकी दिएका थिए।

संयुक्त इजलासले दुवै निवेदनको एकमुस्ट सुनुवाइ गर्ने छ। सर्वोच्चले सम्भावित तीनवटा आदेश गर्न सक्ने छ। उच्च अदालत पाटनकै आदेश सदर गर्ने, सन्दीपको माग बमोजिम आदेश गर्ने वा महान्यायाधिवक्ता कार्यालयको माग बमोजिम आदेश गर्नेमध्ये एउटा आदेश हुन सक्ने छ।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo