Khabar Ujyalo

तीन हत्याराले पाए राष्ट्रपतिबाट आममाफी !

८ फाल्गुन २०७७, शनिबार
तीन हत्याराले पाए राष्ट्रपतिबाट आममाफी !

काठमाडौ : नेपाल तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्यामा दोषी ठहर भई जेल सजाय भोगिरहेका तीनजनालाई प्रजातन्त्र दिवसको अवसरमा बाँकी सजाय मिनाह गरिदिएको छ।

पौडेलको हत्यामा दोषी ठहर भई जेल सजाय भोगिरहेका फणिन्द्र श्रेष्ठ, दिलबहादुर मोक्तान र सुनिल केसीको जेल सजाय सरकारले मिनाहा गरेको हो।

राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिसमा प्रजातन्त्र दिवस (फागुन ७ गते) का अवसरमा ५ सयभन्दा बढी कैदीबन्दीसँगै यी ३ जनाको बाँकी कैद सजाय मिनाहा स्वीकृत गरेकी हुन्‌। उनीहरु तीनै जना प्रधानमन्त्री केपी शर्मा ओली खेमाका कार्यकर्ता हुन् ।

श्रेष्ठ, मोक्तान र केसीले २०६८ पुसमा जिल्ला चितवन कारागारभित्रै तरुण दल चितवनका तत्कालीन अध्यक्ष शिव पौडेलको हत्या गरेका थिए।

नेपाली कांग्रेसनिकट तरुण दलले सरकारी कदमको निन्दा गरेको छ। दलका अध्यक्ष जीतजङ्ग बस्नेतद्वारा जारी विज्ञप्तिमा लेखिएको छ, ‘प्रजातन्त्र दिवसको अवसरमा प्रजातन्त्रकै खिल्ली उडाउँदै नेकपाको ओली गुटको सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बाँकी कैद मिनाहा गरी उनीहरूलाई आममाफी दिइएकोप्रति नेपाल तरुण दल गम्भीर आपत्ति जनाउँदै उक्त कार्यको घोर निन्दा एवम् भर्त्सना गर्दछ।’

तरुण दलले यसको विरोधमा विरोधका कार्यक्रम गरिने जनाएको छ। मन्त्रिपरिषद्को सिफारिसमा ४०१ कैदीको बाँकी कैद मिनाहा तथा १७९ जनाको भुक्तान हुन बाँकी कैदमा छुट दिइएको हो।

भर्खर

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

© 2026 Khabar Ujyalo. All Rights Reserved.