काठमाडौ : सरकारले ०७७ को शैक्षिक सत्र जेठ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको छ । कोभिडका कारण ढिला सुरु भएको पठनपाठनलाई व्यवस्थित गर्न शिक्षा मन्त्रालयले शैक्षिक सत्र जेठ मसान्तसम्म लम्ब्याउने र आगामी १ असारदेखि नयाँ शैक्षिक सत्र सुरु गर्ने औपचारिक निर्णय गरेको हो ।
शिक्षा नियमावलीको संशोधनले विपत्को अवस्थामा शैक्षिक सत्रबारे निर्णय गर्ने अधिकार शिक्षा मन्त्रालयलाई दिएपछि बुधबार यस्तो निर्णय गरेको हो । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले कक्षा १ देखि १२ सम्म पढाइ र परीक्षा जेठ मसान्तसम्म सक्ने गरी ०७७ सालको शैक्षिक सत्र लम्ब्याउने निर्णय भएको जानकारी दिए । यसअघिको व्यवस्थाअनुसार चैत मसान्तसम्म शैक्षिक सत्र रहेकामा नियमावली संशोधन गरी त्यसको निर्णय गर्ने अधिकार शिक्षा मन्त्रालयलाई दिएपछि समय बढाउने निर्णय भएको हो ।
शैक्षिक सत्र कहिलेसम्म सञ्चालन हुने भन्ने औपचारिक निर्णय नहुँदा कक्षा सञ्चालन र परीक्षाको विषयमा समेत अन्योल भएको थियो । विद्यालयस्तरमा कहिलेसम्म पढाउने र परीक्षा हुने भन्ने विषयमा अन्योल थियो । त्यसैगरी एसइई र कक्षा १२ को परीक्षाको विषयको परीक्षाको तयारीमा समेत असर परेको थियो ।