KhabarUjyalo

परिवारसँग समय बिताउँदै सन्दीप, तत्काल मैदान फर्किन हतार नगर्ने

४ माघ २०७९, बुधबार
परिवारसँग समय बिताउँदै सन्दीप, तत्काल मैदान फर्किन हतार नगर्ने

काठमाडौँ । पाटन उच्च अदालतले २० लाख धरौटीमा रिहा गरेपछि राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछाने यतिबेला परिवारसँग समय व्यतित गरिरहेका छन् । हात्तीवनस्थित घरमा बुवाआमा र परिवारका सदस्यसँग बसिरहेका उनको मानसिक स्वास्थ्य सुधारोन्मुख छ ।

बलात्कार आरोपमा बन्दी जीवन बिताइरहँदा सन्दीपको मानसिक स्वास्थ्यमा समस्या उत्पन्न भएको थियो । डिप्रेसनका लक्षणहरु देखिएपछि उनलाई जेलभित्रै काउन्सीलिङ समेत सुरु गरिएको थियो । जेलबाट बाहिर निस्किएपछि भने उनी धेरै हदसम्म आत्मविश्वासी देखिएका छन् ।

स्रोतले भन्यो, ‘उच्च अदालतको आदेशपछि उनको मनोविज्ञान फेरिएको छ । आफूले न्याय पाउनेमा उत्साही र आशावादी देखिएका छन् ।’
सन्दीप अहिले परिवारमा रहेका बालबच्चासँग बढी समय बिताइरहेका छन् । दाजूका छोराछोरी र अन्य आफन्तका बच्चाहरू अहिले उनको परिवारमा छन् । अहिले उनलाई काउन्सीलिङको आवश्यकता नदेखिएको स्रोतको भनाइ छ ।

सन्दीपलाई बाहिरी व्यक्तिहरूसँग भने भेट्न दिइएको छैन । भेट्न आउनेहरू पनि गेटबाटै फर्किने गरेका छन् ।‘मान्छेहरू आएर अनेकथोक सुनाउलान् र मानसिक असर पर्ला भनेर हामीले भेटघाट बन्द गरेका हौँ,’ पारिवारिक स्रोतले भन्यो ।

राष्ट्रिय टिमका खेलाडी वा नेपाल क्रिकेट संघका पदाधिकारीहरु उनलाई भेट्न आएका छैनन् । फोनबाट भने कुराकानी भइरहेको छ । क्रिकेट संघका पदाधिकारीहरुले फोन गरेर उनको सञ्चोविसञ्चो सोधेका थिए ।

जेलबाट रिहा भएलगत्तै सन्दीपका कानून व्यवसायीले उनलाई फेरि क्रिकेट कप्तान बनाउन क्यानसँग माग गरेका थिए । क्यानले पनि सन्दीपलाई राष्ट्रिय टिममा फर्काउनेबारे सकारात्मक प्रतिक्रिया दिएको थियो । तर, तत्काल सन्दीप राष्ट्रिय टिममा फर्किने सम्भावना भने देखिएको छैन । अदालतले सन्दीपलाई मुद्दाको फैसला हुँदासम्म विदेश जान रोक लगाएको हुँदा राष्ट्रिय टिममा फर्काउन सम्भव नदेखिएको हो ।

क्यानका सचिव तथा प्रवक्ता प्रशान्तविक्रम मल्लले सन्दीपलाई मैदानमा फर्काउनेबारे आफूहरु छलफलमै रहेको बताए ।

‘अदालतले लगाएका बन्देजहरूलाई पनि हामीले हेर्नुपर्ने हुन्छ । टिममा फर्काउन मिल्ने/नमिल्ने विषयमा हामी खेलकुद परिषद लगायत राज्यका हरेक निकायहरुसँग छलफलमा छौँ । मिल्ने अवस्था देखियो भने खेलाइन्छ, नत्र अहिले खेलाइन्न,’ उनले भने ।

मल्लले सन्दीपसँग आफूहरूको फोनमा कुरा भइरहेको बताए । केही दिन रेस्ट गरेपछि भेटघाट गर्ने सल्लाह भएको उनले जानकारी दिए ।
‘क्रिकेट टिममा फर्किनेबारे सन्दीपले हामीसँग केही पनि भनेको छैन,’ उनले भने ।

नेपालप्रेस

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo