९ जेष्ठ २०७९, सोमबार

चार्टर्ड, नविल, इन्भेष्टमेन्ट, सिटिजन्स बैंक र इसेवाबाट अवैध मानिएको विटक्वाइनको कारोबार !

१२ माघ २०७८, बुधबार
[Sassy_Social_Share]
चार्टर्ड, नविल, इन्भेष्टमेन्ट, सिटिजन्स बैंक र इसेवाबाट अवैध मानिएको विटक्वाइनको कारोबार !

ठमाडौं । नेपालमा अबैध मानिएको विटक्वाइनको काराबोर केही बाणिज्य बैंकबाट गर्न सकिने सन्देश प्रवाह भएको छ । यद्यपि ती बैंकहरुले आफूहरुको बैंकबाट विटक्वाइनको कारोबार नहुने बताएका छन् ।

लोकलविटक्वाइन्सडटकम नामक वेबसाइटमा स्ट्याण्डर्ड चार्टर्ड बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, नविल बैंक र सिटिजन्स बैंकबाट विटक्वाइनको कारोबार गर्न सकिने उल्लेख गरिएको छ । भर्चुअल मनीको रुपमा रहेको विटक्वाइन नेपालमा कारोबार गर्न पाइदैन ।

सो वेबसाइटमा विभिन्न व्यक्तिले नेपालका ती बैंकमा रकम जम्मा गरेर विटक्वाइनको कारोबार गरेको उल्लेख गरिएको छ । यस्तै, युटिलिटी पेमेन्टको कार्य गर्दै आएको इसेवामार्फत पनि रकम भुक्तानी गर्न सकिने जानकारी गराइएको छ ।

तर, नविल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले नविल बैंकबाट विटक्वाइनको कारोबार नभएको र हुनै नसक्ने बताए । वेबसाइटमा एउटै विटक्वाइन ८ लाख रुपैयाँदेखि १२ लाख रुपैयाँसम्ममा कारोबार भएको उल्लेख गरिएको छ ।

अपडेट

सिटिजन्स बैंक इन्टरनेसलले पनि विटक्वाइनको कारोबारको लागि आफूले कसैलाई पनि स्वीकृति नदिएको र यस्तो कार्य गैरकानुनी भएको बताएको छ ।

विटक्वाइनको कारोबारमा सिटिजन्स बैंकको नाम समेत उल्लेख भएको व्यहोराको समाचार प्रकाशित भए लगत्तै बैंकले आन्तरिक रुपमा छानविन गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले जानकारी दिए ।

‘समाचार आउने वित्तिकै हामीले छानविन

थालिसकेका छौं, यो वेबसाइट फिनल्याण्डबाट संचालन भइरहेको देखिएको छ, हामीले कसैलाई पनि विटक्वाइनको कारोबार गर्न स्वीकृति दिएका छैनौं, यो कार्य सरासर गैरकानुनी हो,’ प्रमुख कार्यकारी अधिकृत पोखरेलले भने ।

राष्ट्र बैंक भन्छः विटक्वाइन गैरकानुनी हो, कारोबार गर्न पाइदैन

नेपाल राष्ट्र बैंकका प्रवक्ता डा. गुणकर भट्टले विटक्वाइनको कारोबार नेपालमा गैरकानुनी भएको स्पष्ट पारेका छन् । नेपालमा विटक्वाइनको कारोबारमा प्रतिबन्द लगाइएकोले कसैले पनि यस्तो कारोबार गर्न गराउन नपाउने उनको भनाइ छ ।

‘विभिन्न बैंकको नाम जोडेर विटक्वाइन कारोबार हुने गरेको भन्ने जानकारी हामीले पनि भर्खरै पाएका छौं, विटक्वाइनको कारोबार नेपालमा गैरकानुनी हो, यो विषयमा कहाँ के भएको रहेछ भनेर हामी पनि बुझ्दैछौं,’ डा. भट्टले भने ।

विटक्वाइन कारोबार गैरकानुनी हो, दिएका छैनौंः इन्भेष्टमेन्ट बैंक

नेपाल इन्भेष्टमेन्ट बैंकले पनि आफ्नो बैंकले विटक्वाइन तथा अन्य कुनै पनि प्रकारका क्रिप्टो करेन्सीको कारोबार गर्न अनुमति नदिएको बताएको छ । विटक्वाइन जस्ता क्रिप्टो करेन्सीको कारोबार गर्न सम्बन्धित बैंक र करेन्सीबीच सम्झौता हुनुपर्ने भएको र नेपालमा अवैध रहेको यस्तो कारोबार नेपाल इन्भेष्टमेन्ट बैंकबाट हुन सक्ने कल्पना पनि नगरिएको बैंकका सुचना अधिकारी विजेन्द्र सुवालले बताए ।

‘हाम्रो बैंकको नाम जोडेर हामीलाई बद्नाम गर्न पनि कसैले यस्तो कार्य गरेको हुन सक्छ, कसैले हुण्डी जस्तो गरी बैंकको प्रणालीले थाहा नपाउने गरी काम गरेको पनि हुन सक्छ, तर हामीले कसैसँग पनि विटक्वाइन वा यस्तै प्रकारका अरु कुनै पनि क्रिप्टो करेन्सीको कारोबारका लागि सम्झौता गरेका वा अनुमति दिएका छैनौं, जे जसरी हाम्रो बैंकको नाम जोडिएको छ, त्यसको अध्ययन गरेर हामी कानुनी कारबाहीको प्रक्रियामा जान्छौं,’ सुचना अधिकारी सुवालले भने ।

हाम्रो बैंकबाट विटक्वाइनको कारोबार हुँदैन, गर्न पनि दिदैनौंः स्ट्याण्डर्ड चार्टर्ड बैंक

स्ट्याण्डर्ड चार्डर्ड बैंक नेपालले पनि आफ्नो बैंकबाट विटक्वाइन जस्ता क्रिप्टो करेन्सीको कारोबार नहुने र हुन पनि नदिने बताएको छ । नेपालको कानुन तथा नियामक निकायले कुनै पनि प्रकारका क्रिप्टो करेन्सीको कारोबारलाई गैरकानुनी तोकेकोले यसको कारोबार हुनै नसक्ने बैंकका सुचना अधिकारी प्रनु सिंहले बताइन् ।

‘स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल क्रिप्टो करेन्सी जस्ता कुनै पनि व्यवसायमा संलग्न छैन, नेपालको कानुन र नियामक निकायले तोकेका विषयको अधिनमा रहेर हामीले बैंकिङ कारोबार गरिरहेका छौं,’ सुचना अधिकारी सिंहले भनिन् ।

विटक्वाइनको कारोबार हुन दिएका छैनौं, हाम्रो नाम किन जोडिएको रहेछ, अध्ययन गरेर आवश्यक प्रक्रिया अघि बढाउँछौंः इसेवा

भुक्तानी सेवा प्रदायक इसेवाले पनि आफूले विटक्वाइन जस्ता क्रिप्टो करेन्सीको कारोबार गर्ने कुनै पनि संस्था, निकाय वा कम्पनीसँग सम्झौता गरेर कारोबार नगरे नगराएको बताएको छ । इसेवाले प्रदान गर्दै आएको रकम ट्रान्सफरको सुविधालाई कसैले दुरुपयोग गरेका वा कसैले आफ्नो कम्पनीलाई बद्नाम गर्ने उदेश्यले यस्तो गरेको भएपनि कारबाही प्रक्रियामा जाने इसेवाका प्रमुख संचालन अधिकृत रोशन लामिछानेले बताए ।

‘विटक्वाइन जस्ता क्रिप्टो करेन्सीको कारोबार गर्ने कुनै पनि मर्चेन्ट बैंकर हामीसँग आवद्ध छैनन्, नेपालमा गैरकानुनी मानिएको विटक्वाइनको कारोबारमा इसेवाबाट रकम भुक्तानी गर्न पाइने भन्ने कुरा सम्भव छैन, तर राष्ट्र बैंकले दिएको सीमासम्मको रकम इसेवाबाट एक व्यक्तिले अर्काे व्यक्तिलाई पठाउन सकिन्छ, यही सुविधा दुरुपयोग गरेर कसैले यस्तो कार्य गरेको रहेछ भने पनि हामी कानुनी कारबाही गर्छाैं,’ प्रमुख संचालन अधिकृत लामिछानेले भने । विकास न्युजबाट

सुदुरपश्चिम प्रदेश धनगढी, कैलाली
९८४८५४५७४७
khabaruyalo97@gmail.com

खबर उज्यालो टिम

सम्पादक

डि आर पनेरू

समाचार पोर्टल खबर उज्यालोमा राजनिती,समाज अर्थतन्त्र,मनोरञ्जन/कला,खेल, बिचार,अन्तरास्ट्रिय, भिडियो समावेश गरिएको छ । तपाईको गाउँ समाज,कार्यालय तथा सार्वजनिक निकायमा भईरहेका विभिन्न गतिविधि तथा सूचना भए हामीलाई सम्झनु होस् । हामी ती सूचनालाई प्राथमिकता दिएर बनाउने छौँ समाचार र सम्पुर्ण पाठक वर्गमा पुर्याउन चाहन्छौं ।

All Rights Reserved ©KhabarUjyalo