KhabarUjyalo

कोरोना सङ्क्रमण भइसकेका बिरामीमा कालो ढुसीको सङ्क्रमण देखियो, सचेत हुन आग्रह

२३ जेष्ठ २०७८, आईतवार
कोरोना सङ्क्रमण भइसकेका बिरामीमा कालो ढुसीको सङ्क्रमण देखियो, सचेत हुन आग्रह

काठमाडौँ । नेपालमा कोरोना सङ्क्रमण भइसकेका बिरामीमा कालो ढुसीको सङ्क्रमणसमेत देखा परेको छ । समयमै सचेत भए कालो ढुसीबाट बच्न सकिने चिकित्सकको सुझाव छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले देशका विभिन्न स्थानमा गरी १० जनामा कालो ढुसी रोग लागेको जानकारी दिएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले कोरोना सङ्क्रमण भई उपचार गराइरहेका र निको भइसकेकाहरूमा कालो ढुसीको रोग लागेको जानकारी दिनुभयो । डा. पौडेलका अनुसार हालसम्म वीरगञ्ज, काठमाडाँै, नेपालगञ्ज, कैलालीलगायतका ठाउँमा कालो ढुसीका रोगी पाइएको जानकारी छ । कालो ढुसी प्राणघातक भएकाले सचेत रहनुपर्ने उहाँको भनाइ छ ।

केही दिनअघिसम्म कालो ढुसीको औषधिसमेत नपाइरहेको अवस्थामा सरकारले विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)लाई आग्रह गरेर एक हजार भाइल औषधि ल्याइसकेको छ । प्रवक्ता डा. पौडेलले तत्काल थप दुई हजार भाइल औषधि ल्याउने तयारी भइरहेको जानकारी पनि दिनुभयो । उहाँले स्वास्थ्य सेवा विभागमार्फत १० हजार भाइल औषधि खरिद गर्ने तयारी भइरहेको जानकारी दिनुभयो । 

वरिष्ठ नाक, कान तथा घाँटीरोग विशेषज्ञ डा. ढुण्डी पौडेलले कालो ढुसी रोग लाग्नै नदिनेतर्फ लाग्नुपर्ने बताउँदै यसको सङ्क्रमण बढ्दै जाँदा शरीरका विभिन्न अङ्गमा क्षति पु-याउने जानकारी दिनुभयो । डा. पौडेलले कालो ढुसीको सङ्क्रमण भएका बिरामीमा ज्वरो आइरहने, अनुहार, मुख, नाक, आँखा वरिपरि दुख्ने, आँखा र नाक सुन्निने, रातो हुने वा दुख्नेलगायतका लक्षण देखिने जानकारी दिनुभयो । उहाँले यो रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिहरूमा देखिने भन्दै रोग लाग्नै नदिनेतर्फ ध्यान दिनुपर्ने बताउनुभयो । 

मधुमेह रोग भएका व्यक्ति तथा एन्टिबायोटिक र स्टेरोइड औषधिको लामो समयसम्म प्रयोग गर्नेहरू कालो ढुसीको सिकार हुने भएकाले चिकित्सकको सल्लाहबिना एन्टिबायोटिक तथा स्टेरोइडजस्ता औषधि सेवन नगर्न उहाँले आग्रह गर्नुभयो । डा. पौडेलले कालो ढुसीको सङ्क्रमणबाट बच्न सफा र सुक्खा मास्क प्रयोग गर्ने, डिस्पोजेबल मास्क पुनः प्रयोग नगर्ने, नियमित रूपमा हात धुने, धेरै धुलो भएको स्थानमा नजाने, ओसिलो ठाउँमा पनि रोगको सङ्क्रमण हुने भएकाले ओसिलो ठाउँमा नजान आग्रह गर्नुभयो । 

उहाँका अनुसार कालो ढुसी एक व्यक्तिबाट अर्को व्यक्तिमा नसर्ने भन्दै शरीरमा रोग प्रतिरोधात्मक क्षमता नभएको अवस्थामा कालो ढुसीले सङ्क्रमण गर्ने जानकारीसमेत गराउनुभयो । कालो ढुसीका लक्षणहरूमा ज्वरो आउने, आँखा, नाक सुन्निने, नाक वरिपरिको छाला कालो हुने, नाकबाट बाक्लो सिँगान आउने, मुख, नाक तथा आँखा वरिपरि दुख्ने, आँखाले धमिलो देख्ने, आँखा सुन्निनेजस्ता लक्षण देखा पर्ने उहाँले बताउनुभयो ।

कोरोनाको उपचारका क्रममा स्टेरोइड र एन्टिबायोटिक औषधि अत्यधिक सेवन गरेका व्यक्ति कालो ढुसीको उच्च जोखिममा रहेको जानकारी डा. पौडेलले दिनुभयो । मास्क नियमित लगाउने, नियमित हात धुने वा सेनिटाइजरको प्रयोग गर्ने, घरबाहिर फोहोरमा काम गर्दा सचेत हुने, जथाभावी औषधि प्रयोग नगर्ने, मधुमेह भएका बिरामीले चिनीको मात्रालाई नियन्त्रण गर्ने, धुलो–धुवाँमा नबस्नेजस्ता सावधानी अपनाए म्यकुरमाइकोसिसबाट बच्न सकिने उहाँले बताउनुभयो ।

डा. पौडेलले रोग प्रतिरोधात्मक क्षमता कम भएका बेला ब्याक्टेरियाले आक्रमण सुरु गर्ने बताउनुभयो । शरीरका विभिन्न भागबाट आँखामा उक्त सङ्क्रमण पुग्ने भन्दै उहाँले विस्तारै आँखालाई हेर्न नसक्ने बनाउन सक्ने बताउनुभयो ।गोरखापत्र दैनिकमा खबर छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo