धनगढीः बझाङमा पसल तोडफोड गरेको आरोपमा १४ वर्षीय बालक पक्राउ परेका छन्। सदरमुकाम चैनपुरको चौराहा नजिकै रहेको एसपलस मोबाइल ग्यालरीमा चोरी गरेको आरोपमा एक बालक पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा सुर्मा गाउँपालिका वडा नम्बर-२ का १४ वर्षीय बालक रहेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ। शुक्रवार राति साढे ११ बजेको समयमा बोहोरा मोबाइल ग्यालरी भित्र पसेर सामान चोरी गर्दै गरेको अवस्थामा स्थानियले देखेर प्रहरीलाई खबर गरेका थिए।
खबर पाउनासाथ बझाङ प्रहरी प्रमुख तथा डिएसपी भरतबहादुर शाह सहितको टोली खटिएर उनलाई नियन्त्रणमा लिइएको बताइएको छ। पसलको ताला फोडेर भित्र गएका बालकले प्रहरी र स्थानिय आएपछि सामान चोर्न भने नपाएको तर केहि मोबाइल, ल्याप्टप लगाएतका इलेक्ट्रोनिक सामाग्रीमा क्षती पुगेको पसल सञ्चालक शिवराज उपाध्यायले बताए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको छ।
ती बालकले गत कात्तिकमा सुर्मा गाउँपालिका–३ धनीधारामा रहेको एक आधारभुत स्वास्थ्य केन्द्रमा समेत तोडफोड गरेर कण्डमसहित स्वास्थ्य सामाग्री चोरी गरेका थिए।