KhabarUjyalo

धनगढीमा नक्सा पास नगरी घर बनाए दुई सय प्रतिशत जरिवाना

१५ कार्तिक २०८०, बुधबार
धनगढीमा नक्सा पास नगरी घर बनाए दुई सय प्रतिशत जरिवाना

धनगढी : धनगढी उपमहानगरपालिकाका डिभिजन ईञ्जिनियर दिजराज भट्टले फुसको घर बाहेक सबै संरचना नक्सा पास गरेर मात्र बनाउन पाईने बताए ।

अन्यथा प्रचलित दरमा थप दुई सय प्रतिशत जरिवाना तिरेपछि मात्र निर्माण गर्न दिने बताए ।

भट्टका अनुसार हाल कच्ची घरको नक्सा पास गर्दा प्रति बर्ग फिट सात रुपैया शुल्क लाग्ने गरेको छ । तर नक्सा पास नगरी कच्ची घर निर्माण गरे प्रचलित करमा थप दुई सय प्रतिशत शुल्क जरिवाना तिराउने गरेको बताए ।

अहिलेसम्म हामीले पर्खालको नक्सा पासलाई महत्व दिएका थिएनौ । अव नक्सा पास नगरी पर्खाल समेत निर्माण गर्न दिदैनौ, उनले भने, कच्ची घर हुन वा पक्की घर, नक्सा पास नगरी बनाईएका सबै संरचनामा जरिवाना लाग्छ ।

उनले यो नियम बिगतमा समेत भएपनि त्यसको कार्यान्वयन हुन नसकेको बताए । उनले भने, अव यो नियमको प्रभावकारी कार्यान्वयन गर्छौ ।

डिभिजन ईञ्जिनियर भट्टले नगरक्षेत्रमा पक्की पिलर वाला आवासीय भवनको भुईतलाको नक्सा पासका लागि प्रति बर्ग फिट लागि ९ रुपैया लाग्ने र जति तला थपिदै गयो, त्यसमा एक/एक रुपैया शुल्क प्रति बर्ग फिट थपिने बताए ।

त्यस्तै पक्की पिलर वाला व्यापारिक भवन भवनको भुईतलाको नक्सा पासका लागि प्रति बर्ग फिट लागि १० रुपैया लाग्ने र जति तला थपिदै गयो, त्यसमा एक/एक रुपैया शुल्क प्रति बर्ग फिट थपिने बताए ।

आवासीय र व्यापारिक भवनहरु नक्सा पास नगरी बनाइएको पाईएमा त्यस्ता घरधनीहरुले प्रचलित करमा थप दुई सय प्रतिशत जरिवाना तिर्नुपर्ने बताए ।

नक्सा पासको अनुमती तीन चरणमा दिने गरेको भट्टले सुनाए । नगरपालिकाको ईञ्जिनियरको प्रत्यक्ष अनुगमनमा पहिलो चरणमा जगदेखि कुर्चीको लेवल, त्यसपछि छत ढलान र त्यसपछि घर पूर्ण भएपछि शुल्क तिरेपछि नक्सा पास हुने उनले बताए ।

सेटव्याक नछोडेको घरको भने नक्सा पास नहुने र त्यस्तो घर उपमहानगरपालिकाले भत्काउने भट्टले बताए ।

सरकारी मापदण्ड पालना नगरी घर तथा भवन बनाउन खोजेमा नक्सा पास नै हुँदैन । र, निर्माण सम्पन्न प्रमाणपत्र पनि पाइँदैन । निर्माण सम्पन्न प्रमाणपत्र नपाउँदासम्म बैंकिङ कारोबार पनि गर्न पाइँदैन ।

धनगढी उपमहानगरपालिकाले मेनरोडमा ३० मिटर अधिकार क्षेत्र तोकेको छ । मेनरोडमा घर बनाउनेहरु सडकको अधिकार क्षेत्रबाट थप ६ मिटर सेटव्याक छोडेर मात्र घर, पसल वा भवनहरु बनाउन पाउछन् ।

हुलाकी सडकमा पनि छ मिटर सेटव्याक छोडेर घर निर्माण गर्न पाईने भट्टले बताए । रिङ रोडमा घर निर्माण गर्नेले सडकको अधिकार क्षेत्र छोडेर तीन मिटर र शाखा सडकमा दुई मिटर सेटव्याक छोड्नु पर्नेछ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo