१८ मंसिर २०७९, आईतवार

डडेल्धुरामा ३१ वर्षदेखि अपराजित देउवा सातौँ  जितको खोजीमा

३० कार्तिक २०७९, बुधबार
डडेल्धुरामा ३१ वर्षदेखि अपराजित देउवा सातौँ  जितको खोजीमा

३१ वर्षको अवधिमा प्रतिस्पर्धी फेरिए, मतदाता पनि थपिए । तर, डडेल्धुराबाट शेरबहादुर देउवाको अपराजित यात्रा जारी रह्यो । ०४८, ०५१, ०५६, ०६४, ०७० र ०७४ मा भएको निर्वाचनमा विजयी भएका देउवा अहिले सातौँ जितका लागि सक्रिय छन् । 

०४८ सालमा पहिलोपटक आमनिर्वाचन लडेका देउवाले २४ हजार पाँच सय ७० मत पाउँदै फराकिलो जित निकालेका थिए । त्यसवेला उनका निकटतम प्रतिस्पर्धी थिए एमालेका गोविन्दबहादुर कलौनी । उनले ६ हजार ६ सय २८ मत पाए । ०५१ सालको मध्यावधि निर्वाचनमा भने देउवाको मत घट्यो । तर, विजयी यात्रा जारी रह्यो । ३३ हजार पाँच सय २३ मत खसेकोमा देउवाले २० हजार सात सय एक मत पाए । उनका निकटतम प्रतिस्पर्धी नेपाल जनवादी मोर्चाका खेमराज भट्ट (मायालु)ले नौ हजार नौ सय ६६  पाए । 

०५६ को आमनिर्वाचन देउवाका लागि झन् सहज भयो । ४४ हजार दुई सय ९३ खसेको मतमा २८ हजार ६ सय ५१ मत ल्याएर देउवा विजयी भए । उनका निकटतम प्रतिस्पर्धी एमालेका बागेश्वरीदत्त चटौतले सात हजार आठ सय ४० र राप्रपाका गणेशप्रसाद भट्टले चार हजार आठ सय ९३ मत पाए । ०६४ मा भएको संविधानसभाको निर्वाचन देउवाका लागि हम्मेहम्मे पर्‍यो । सशस्त्र विद्रोहबाट शान्ति प्रक्रियामा आएको माओवादीकै सबैतिर दबदबा थियो । त्यस निर्वाचनमा कांग्रेस र एमालेका अधिकांश शीर्ष नेता पराजित भए । देउवा भने झिनो मतान्तर (१३६८)ले जित निकाल्न सफल भए । 

५१ हजार आठ सय ६८ मत खसेकोमा देउवाले २० हजार पाँच सय २९ मत पाएका थिए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा माओवादीका खगराज भट्टले १९ हजार एक सय ६१ मत पाएका थिए । ०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनमा देउवाले फेरि मतान्तर बढाए । देउवाले २३ हजार नौ सय २० मत पाउँदा निकटतम प्रतिस्पर्धी एकीकृत नेकपा माओवादीका खगराज भट्टले १२ हजार चार सय ९३ मत पाए । 

०७४ सालमा देउवाविरुद्ध वाम–गठबन्धन भयो । तर, उनका प्रतिस्पर्धी भने पुरानै थिए । ०६४ र ०७० मा देउवासँग पराजित भइसकेका खगराजलाई वाम–गठबन्धनले देउवाविरुद्ध चुनावी मैदानमा उतार्‍यो । तर, देउवालाई भने अपराजित यात्रालाई निरन्तरता दिन मुस्किल भएन । देउवाले २८ हजार चार सय ४६ मत पाएर विजयी हुँदा गठबन्धनका साझा उम्मेदवार माओवादी केन्द्रका खगराज भट्टले २१ हजार चार सय ९८ मत पाए । 

देउवाविरुद्ध कांग्रेस बिपीबाट उम्मेदवारी दिएका कर्णबहादुर मल्ल र स्वतन्त्र उम्मेदवारी दिएका सागर ढकालसहित ६ जना प्रतिस्पर्धी रहेका छन् । नयाँ पत्रीकाबाट

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo