१८ मंसिर २०७९, आईतवार

डोटीमा भुकम्प पिडितलाई राहत वितरण

२६ कार्तिक २०७९, शनिबार
डोटीमा भुकम्प पिडितलाई राहत वितरण

डोटी । डोटीमा भुकम्प पिडितका परिवारलाई राहत वितरण गरिएको छ ।

डोटी जिल्ला विपद् व्यवस्थापन कोषमार्फत मृतकका आफन्त पदमबहादुर बोहरालाई चार लाख, विस्नादेवी बोहरालाई तीन लाख र महावीर बोहरालाई दुई लाख घटनास्थलमा गई वितरण गरिएको जिल्ला प्रशासन कार्यालय डोटीले जनाएको छ ।

त्यस्तै पूर्ण क्षति भएका १८ घरपरिवारलाई टेन्ट, ब्ल्याङ्केट, खाद्यान्न उपलब्ध गराइएको छ । सायल गाउँपालिकामा ३०र३० थान त्रिपाल र ब्ल्याङ्केट पठाइएको र पूर्वीचौकीको सिमलडाँडाका १० घरपरिवारलाई कात्तिक २६ गते राहत सामग्री पठाउन व्यवस्था मिलाइएको प्रजिअ कल्पना श्रेष्ठले बताए ।

स्थानीय तहको प्राविधिक, नजिकको प्रहरी एकाइ र रेडक्रसको संलग्नतामा भौतिक क्षतिको प्रारम्भिक विवरण सङ्कलन भइरहेको प्रशासनले जनाएको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिको बैठक बसी विभिन्न निर्णयका साथै भौतिक क्षतिको सर्भे, मूल्याङ्कनका लागि प्राविधिक कर्मचारी पठाउन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणमा अनुरोध गरिएको पनि जनाइएको छ ।

भूकम्पबाट जिल्लाका अन्य पालिकाहरूमा घरहरू चर्केको तथा भत्केको भए पनि पूर्वीचौकी र सायल गाउँपालिकामा बढी भौतिक क्षति पुगेको छ । पूवीचौकी गाउँपालिकामा मान्छे नबस्ने दुई घरसहित ३० घरमा पूर्ण क्षति भएको छ भने अन्य धेरै घरहरू चर्केको निरीक्षण टोलीले जनाएको छ ।

सो निरीक्षण टोलीमा प्रजिअ श्रेष्ठ, पूर्वीचौकी गाउँपालिका अध्यक्ष रामप्रसाद उपाध्याय, प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद धमला, स.प्र.उ. वीर सिंह शाहु, प्र.अ.अ. डिगम्वर गिरी, रेडक्रस सोसाइटीका सभापति लक्षि कुँवर सहभागिता रहेको थियो ।

बुधबार बिहान डोटीको खप्तड राष्ट्रिय निकुञ्ज केन्द्रविन्दु भएर भूकम्पबाट घर भत्किदा च्यापिएर ६ जना मृत्यु भएको थियो । केही घाइते भएका थिए । एक दर्जन घरमा क्षती पुर्‍याएको थियो ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo