KhabarUjyalo

अब आधुनिक इन्जिनियरिङमा वास्तु शास्त्र पनि समावेश गरिने

११ कार्तिक २०८०, शनिबार
अब आधुनिक इन्जिनियरिङमा वास्तु शास्त्र पनि समावेश गरिने

काठमाडौँ । वास्तु शास्त्रको ज्ञान आधुनिक इन्जिनियरिङमा समावेश गरी अध्यापन गराइने भएको छ । नेपाल संस्कृत विश्वविद्यालयमा वास्तु शास्त्रका विषय समावेश गरेर आधुनिक  इन्जिनियरिङमा स्नातक तहको अध्यापन गर्न लागिएको हो ।

आधुनिक  इन्जिनियरिङमा प्राचीन स्थापत्य विधा समावेश गरेर अध्ययन, अनुसन्धान गराउन लागिएको हो । यसका लागि विश्वविद्यालयले स्थापत्य अध्ययन संस्थान नै स्थापना गरेको छ ।

विश्वविद्यालय प्राज्ञिक परिषद्ले हालै यस विषयको पाठ्यक्रम स्वीकृत गरेको संस्थानका डीन वीरेन्द्र खड्काले जानकारी दिए । यसका लागि विश्वविद्यालयले विगत तीन वर्षदेखि बजेट विनियोजन गर्दै आएको छ । यस वर्ष पनि यस कार्यक्रमलाई रु  चार करोड बजेट विनियोजन गरिएको उनले सुनाए।

विज्ञान विषय लिएर दश जोड दुई उत्तीर्ण गरेकाले यस विषयमा अध्ययन गर्न पाउने छन् । आगामी शैक्षिक सत्रदेखि काठमाडौँमा रहेको विश्वविद्यालयको आङ्गिक क्याम्पस वाल्मीकि विद्यापीठमा अध्यापन गराउने गरी तयारी भएको छ ।

विश्वविद्यालयको केन्द्रीय कार्यालय रहेको दाङमा वास्तु शास्त्रसम्मत भवनको निर्माण गरी वास्तुसम्बन्धी अध्ययन अध्यापनका लागि विस्तार गर्ने योजना रहेको छ । वास्तुको अध्यापनका लागि भौतिक संरचना निर्माणलाई पनि विश्वविद्यालयले प्राथमिकता दिने भएको छ ।

स्थापत्य वेद चार उपवेदमध्येको एक हो । प्राचीन कालमा यसैका आधारमा पशुपतिनाथलगायत मन्दिरको निर्माण भएको थियो । हाँडीगाउँ क्षेत्रका मठ मन्दिर पनि वास्तु नियमलाई पालना गरेर निर्माण गरिएको हो ।

पछिल्लो समय वास्तुका नियम बिर्सन लागेकाले विश्वविद्यालयमा औपचारिक अध्ययन अध्यापन गरी यसको संरक्षण र प्रवर्द्धनमा काम गर्न लागिएको डीन खड्काले जानकारी दिए । पश्चिमी देशका मानिस पछिल्लो समय वास्तुका नियममा बढी आकर्षित भएका छन् ।

विश्वविद्यालयले हालै अमेरिकाको महर्षि विश्वविद्यालयसँग सम्झौता गरी नेपालमा वास्तुको अध्ययन, अनुसन्धानमा सहकार्य गर्ने बाटो खोलेको छ । नेपाल महर्षि वैदिक फाउन्डेसनको संयोजनमा यो सम्झौता भएको विश्वविद्यालयले जनाएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo