KhabarUjyalo

इजरायलमा मारिएका सुदूरपश्चिमका चार विद्यार्थीको शव आफन्तलाई बुझाइयो

६ कार्तिक २०८०, सोमबार
इजरायलमा मारिएका सुदूरपश्चिमका चार विद्यार्थीको शव आफन्तलाई बुझाइयो

काठमाडौँ – इजरायलमा मृत्यु भएका सुदूरपश्चिम प्रदेशका चार विद्यार्थीको शव हिजो आइतबार मृतकका आफन्तलाई बुझाइएको छ ।

कैलालीको जोशीपुर गाउँपालिका आशिस चौधरी, घोडाघोडी नगरपालिकाका नरायणप्रसाद न्यौपाने, दार्चुला मल्किार्जुन गाउँपालिकाका लोकेन्द्रसिंह धामी र दार्चुला घर भई कञ्चनपुर निबुवाखेडाका दीपेशराज बिष्टको शव आफन्तलाई बुझाइएको हो ।

मृतक चार युवाविद्यार्थीको शव नेपाली सेनाको स्काईट्रकमार्फत् धनगढी विमानस्थलमा पुर्‍याइएको थियो । शव बुझ्न मृतकका आफन्त धनगढी विमानस्थलमा पुगेका थिए ।

विमानस्थल पुगेका सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन वन तथा वातावरणमन्त्री रमेशसिंह धामी, प्रदेशसभामा नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामी, मृतक विद्यार्थीलाई अध्ययन गरेको सुदूरपश्चिम विश्वविद्यालयअन्तर्गत स्कुल अफ एग्रीकल्चर, कृषि विज्ञान सङ्काय टीकापुरका प्राध्यापक सुशील न्यौपाने, आफन्तजनलगायतले मृतकप्रति श्रद्धाञ्जलि अर्पण गरे ।

मृतकका आफन्तलाई शव बुझाउन कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, जिल्ला प्रहरी प्रमुखलगायत विमानस्थल पुगेका थिए । स्कुल अफ एग्रीकल्चर, कृषि विज्ञान सङ्काय टीकापुरका प्राध्यापक सुशील न्यौपानेका अनुसार ‘लर्न एण्ड अर्न’ कार्यक्रमका लागि ४९ युवा विद्यार्थी इजरायल गएकोमा १७ जना हिंसात्मक घटनामा परेका थिए । यीमध्ये दश जनाको मृत्यु भएको थियो । मृतकमध्ये सात जना सुदूरपश्चिम प्रदेशका रहेकोमा तीन जनाको शव पुग्न बाँकी छ ।

कञ्चनपुर महेन्द्रनगरका विपिन जोशी वेपत्ता रहेको बताइएको छ । घटनामा घाइते भएका तीन जना उपचारमा रहेका छन् भने ३५ जना नेपाल फिर्ता भइसकेका छन् ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo