धनगढी ५ कार्तिक/इजरायल युद्धमा परी मृत्यु भएका १० नेपाली विद्यार्थीमध्ये चारको शव धनगढी ल्याइन लागेको छ ।
फ्लाई दुबईको विमानमार्फत् काठमाडौं ल्याइएको विद्यार्थीहरुको शव धनगढीका लागि उडान भइसकेको हो ।धनगढी विमानस्थलका अनुसार शव नेपाली सेनाको हेलिकोप्टरमार्फत ५ बजेर नौ मिनेटमा धनगढी पुग्ने जनाइएको छ । धनगढीबाट स्थानीय प्रशासनले पीडितको घरसम्म शव पु¥याउने व्यवस्था गरिएको छ ।
हालसम्म दार्चुला मालिकार्जन–४ का लोकेन्द्रसिंह धामी, दार्चुला लेकम–५ का दीपेशराज विष्ट, कैलाली घोडाघोडी–४ का नारायणप्रसाद न्यौपाने तथा कैलाली बौनियाँ–३ का आशीष चौधरीको शव नेपाल ल्याइएको थियो । न्यौपानेको शव गए राति ल्याइएको थियो भने धामी र विष्टको शव आज बिहान आइपुगेको हो । चौधरीको शव आज दिउँसो २ः४० बजे नेपाल ल्याइएको थियो ।
गत असोज २० गते हमास समूहको आक्रमणमा परी इजरायलमा १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो । सुदूरपश्चिम विश्वविद्यालयको कृषि क्षेत्रको ‘लर्न एण्ड अर्न’ कार्यक्रमअन्तर्गत उनीहरु इजरायल गएका थिए । उनीहरु गत भदौ १८ र १९ गते प्रयोगात्मक सिकाइका लागि ११ महिनाको ‘अर्न एन्ड लर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका थिए ।
उक्त आक्रमणमा परी मृत्यु हुने अन्य विद्यार्थीमा बझाङ जयपृथ्वी–६ का गणेशकुमार नेपाली, धनुषा सापही–६ का आनन्द शाह, सुनसरी मधुवन–१ का राजेशकुमार स्वर्णकार, डोटी पचनाली–३ का राजन फुलारा, डोटी लामीखाल–८ का पदम थापा र सल्यान सारदा–३ का प्रवेश भण्डारी छन् । सोही आक्रमणमा परी कञ्चनपुर भीमदत्त–३ का विपीन जोशी सम्पर्कबिहीन छन् ।आक्रमणमा परी मृत्यु भएका बाँकी छ नेपाली विद्यार्थीको शव पहिचान गर्ने र कानुनी प्रक्रिया पूरा गर्ने क्रममा रहेको बताइएको छ । केही दिनअघि परराष्ट्रमन्त्री नारायणप्रकाश साउदसहितको टोलीले इजरायलमा फसेका दुई सय ५४ विद्यार्थीलाई नेपाल ल्याएको थियो।