KhabarUjyalo

विपिन जोशीको खोजीकार्य जारी छ : इजरायल दूतावास

५ कार्तिक २०८०, आईतवार
विपिन जोशीको खोजीकार्य जारी छ : इजरायल दूतावास

काठमाडौँ । नेपालका लागि इजरायली राजदूत हनान गोडेरले प्यालेस्टिनी चरमपन्थी समूह हमासको कब्जामा रहेका नेपाली विद्यार्थी विपिन जोशीको खोजी जारी रहेको बताएका छन् । जोशी सहितका अबोध नागरिकहरूलाई हमासले नियन्त्रणमा लिएको भन्दै उनले उनीहरूलाई मुक्त गर्न आह्वान गरे ।

‘हमासको कब्जामा परेका जोशी कहाँ छन् थाहा छैन । हामीले जोशीको खोजी जारी राखेका छौँ,’ राजदूत गोडेरले आज काठमाडौँमा पत्रकारहरूसँग कुरा गर्दै भने, ‘उनी कुनै पनि टक्कर (कोलिसन)सँग आबद्ध नरहेको स्पष्ट पार्दै अन्तर्राष्ट्रिय स्तरमा समुदायलाई खोज्न आग्रह गरिरहेका छौँ र आतङ्ककारीलाई पनि उनी लगायत कब्जामा रहेका अबोध नागरिकलाई छोड्न आग्रह गरेका छौँ ।’

गत असोज २० गते इजरायलमा हमासले गरेको आक्रमणमा परी १० नेपाली विद्यार्थीको मृत्यु भएको थियो भने एक जना विपिन जोशी सम्पर्कविहीन छन् । मृतक १० मध्ये आज चार शव नेपाल ल्याइएको छ । आक्रमणको क्रममा मुस्किलले बाँच्न सफल भएका घाइते धनबहादुर चौधरीलाई पनि आजै काठमाडौँ ल्याइएको छ ।

आइतबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्‍याइएका नेपाली विद्यार्थीहरूको शवमा श्रद्धाञ्जली अर्पण गरेपछि पत्रकारहरूको जिज्ञासामा राजदूत गोडेरले अर्को एउटा शव दुई दिनपछि नेपाल आइपुग्ने जानकारी दिए ।

उनले भने, ‘इजरायलमा एक हजार ४०० शवहरू छन् । हामी शवको पहिचान गर्ने प्रक्रियामा छौँ । सबै नेपालीको शव पहिचान भइसकेको छैन । आज चार जनाको शव आएको छ । अर्को एउटा शव दुई दिनपछि आउनेछ । थप पाँच जनाको शव पहिचान गर्ने काम जारी छ ।’

हमासले इजरायलमा भयानक आतङ्क सिर्जना गरिरहेको बताउँदै उनले बालबालिका र नेपाली विद्यार्थीहरूलाई पनि निशाना बनाएको भन्दै आक्रोश व्यक्त गरे ।

उनले आफूहरूले नेपालीलाई परेको यो सङ्कटको घडीमा आफ्नै परिवारको सदस्यहरू जस्तै ठानेर काम गरिरहेको जानकारी उनले गराए । ‘तपाईँसँग हामी छौँ तपाईँ हाम्रो परिवार हो र सधैँ रहनुहुनेछ,’उनले भने ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo