रौतहट। रौतहटको एक पालिकाको प्रमुख प्रशासकीय अधिकृत पदमा २ जनाले बिहीबार एकै दिन हाजिर गरेका छन् । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वृन्दावन नगरपालिकामा हाजिर भएका उपसचिव सुरेन्द्र प्रधानलाई थप जिम्मेवारी र अर्का नेपाल स्वास्थ्य सेवा, हेल्थ ईस्पेक्सन समूह अधिकृत स्तर छैटौँ तहका रास नारायण पटेललाई प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएसम्मको लागि बढीमा दुई महिना सम्मको लागि आर्थिक र प्रशासनिक कार्य गर्ने गरी जिम्मेवारी दिएपछि बिहीबार एकैदिन दुवै जनाले हाजिर गरेका छन् ।
उपसचिव सुरेन्द्र प्रधानलाई उपप्रमुख संगिता राम सहितका जनप्रतिनिधिहरुले हाजिर गराएका हुन भने हेल्थ ईस्पेक्सन समूह अधिकृत स्तर छैटौँ तहका रास नारायण पटेल लाई नगरप्रमुख विनोद पटेलले हाजिर गराएका हुन्।
दुवै जना हाजिर भएपछि अधिकांश जनप्रतिनिधि र कर्मचारी अन्यौलमा परेका छन्। पटेललाई नगरपालिकाको असोज १८ गते कार्यपालिकाको निर्णयको आधारमा जिम्मेवारी दिएको मन्त्रालयले जनाएको छ । मन्त्रालयले दुई जना प्रमुख प्रशासकीय अधिकृत लाई एकै प्रकृतिको पत्र दिएपछि विवाद चुलिएको छ।
गत असोज २६ गते फतुवा बिजयपुर नगरपालिकामा कार्यरत उपसचिव सुरेन्द्र प्रधानलाई स्थानीय सरकार सञ्चालन ऐन ०७४ को दफा ८४ को उपदफा ४ बमोजिम प्रमुख प्रशासकीय अधिकृत हाजिर नभएसम्म काम काजमा सहजीकरण गर्न आर्थिक र प्रशासनिक कार्य सहितको जिम्मेवारी दिइएको थियो भने पटेल लाई कार्तिक १ गते सोही प्रकृतिको पत्र मन्त्रालयले दिएपछि दुवै जनाले प्रमुख प्रशसकिय अधिकृतको जिम्मेवारीमा हाजिर गरेका हुन्।
लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृत विहीन रहेको वृन्दावन नगरपालिकामा दसैँ बिदा हुनु एक दिन अघि मात्र दुई जनाले हाजिर गरेपछि अन्यौल उत्पन्न भएको हो।