काठमाडौ : राष्ट्रपतिबाट आममाफी पाएर छुटेका रुकुमका युवकले गरे महिलाको घाटी रेटेर हत्या गरेको छ ।
गत असोज ३ गते संविधान दिवसको अवसरमा राष्ट्रपतिबाट कैद माफी भएर कारागार कार्यालय रुकुमबाट कैदमुक्त भएका रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–९ का ३३ वर्षीय लोकेन्द्र भनिने लोकबहादुर बिकले होटेलमा लिएर एक महिलाको हत्या गरेको प्रहरीले जानकारी दिएको छ।
लोकबहादुरले मुसीकोट नगरपालिका–७ साँखकी २८ वर्षीया भावना बिकको हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक (डिएसपी) नमराज भट्टराईले जानकारी दिए।
उनै लोकबहादुरले कैदमुक्त भएको २५ दिनपछि असोज २९ गते सोमबार भावनालाई मुसीकोट नगरपालिका–१ खलंगा बजारको होटेल सत्कारमा हत्या गरेको प्रहरीको दाबी छ।
अघिल्लो दिन होटेल पुगेका उनीहरुले त्रिवेणी गाउँपालिकाका विकास केसीको नाममा श्रीमान्–श्रीमती नाता उल्लेख गरेर होटेलको कोठा नम्बर १ बुक गरेका थिए।
दुवै जना २९ गते बिहान १० बाट सम्पर्कमा नआएपछि ३० गते बिहान बन्द कोठा खोलेर हेर्दा भावनाको शव सिरकले छोपिएको अवस्थामा भेटिएको थियो।