KhabarUjyalo

तलब नपाएपछि पत्रकारहरूले उठाए टेलिभिजनको कम्प्युटर र क्यामेरासहित फर्निचर !

१ कार्तिक २०८०, बुधबार
तलब नपाएपछि पत्रकारहरूले उठाए टेलिभिजनको कम्प्युटर र क्यामेरासहित फर्निचर  !

लामो समयदेखि तलब नपाएपछि अर्थ न्यूज टेलिभिजनका श्रमजीवी पत्रकार तथा कर्मचारीहरूले कार्यालयको सामान उठाएका छन्।

उपकार मिडिया ग्रुपद्धारा सञ्चालित टेलिभिजनमा कार्यरत पत्रकार तथा कर्मचारीहरुले आज कम्प्युटर, क्यामेरासहित फर्निचर उठाएका हुन्।

ललितपुरको कृष्णगल्लीमा रहेको टेलिभिजनका पत्रकारहरुले तलब माग्दै यसअघि पटकपटक आन्दोलन गरिसकेका छन्। तर, टेलिभिजनका कार्यकारी निर्देशक कमल शाहले झुल्याउने कार्य मात्रै गरेपछि आज सामान उठाएको पीडितहरुले बताए।

त्यहाँ कार्यरत पत्रकारहरुको तीन महिनादेखि नौं महिनासम्मको तलब बाँकी छ। कार्यकारी निर्देशक शाहले पैसा नभएको बैंकको खाली चेक दिएर झुक्याउँदै आएको पीडितहरुको आरोप छ। महानगरीय प्रहरी परिसर, ललितपुरले बैंकिङ्ग कसूरको आरोपमा आज शाहलाई पक्राउ गरेको छ।

नयाँ व्यवस्थापक पक्ष आएपनि तलब दिन चासो नदेखाएको पीडितहरुको भनाई छ। पीडितहरुले तलब माग्दै गत भदौ २२ गते टेलिभिजनको कार्यालयमा तालाबन्दी गरेका थिए। उक्त तालाबन्दीपछि नयाँ व्यवस्थापन पक्ष दिनेश शाह, कमल शाह र टेलिभिजनका कर्मचारीबीच पाँच बुँदे सहमति भएको थियो।

नयाँ व्यवस्थापन पक्षले असोज १५ गतेभित्र एक महिनाको पारिश्रमिक खातामा पठाइदिने, तीन महिनाभित्र बाँकी पारिश्रमिक प्रदान गर्नेलगायतको सहमति गरेको थियो। तर, अहिलेसम्म तलब नदिएको उनीहरुले बताए। टेलिभिजनका सञ्चालक केदारनाथ शर्मा निक्षेपकर्ताको निक्षेप हिनामिना गरेको आरोपमा प्रहरी हिरासतमा छन्।

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo