१८ मंसिर २०७९, आईतवार

कैलालीको घोडाघोडीमा वडा स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता सम्पन्न

२८ आश्विन २०७९, शुक्रबार
कैलालीको घोडाघोडीमा वडा स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता सम्पन्न

कैलाली : कैलालीको घोडाघोडीमा वडा स्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता सम्पन्न भएको छ।

कैलाली जिल्लाको घोडाघोडी नगरपालिका ५ देवकलियमा विजया दशमी तथा शुभ दिपावलीको अवसरमा उज्यालो नेपाल युवा क्लबको आयोजना र वडा नं ५ को कार्यालयको सहयोग/सहकार्यमा उक्त प्रतियोगिता असोज १७ गते देखि असोज २७ गते सम्म सञ्चालन भएको थियो।

खेल, खेलाडीका लागि; खेलाडी, राष्ट्रका लागि भन्ने मूल उद्देश्य र सधैं पुरुषलाई मात्र खेलमैदानमा नभई महिलालाई समेत खेलमैदानमा ल्याउन सो प्रतियोगिता गरिएको आयोजक उज्यालो नेपाल युवा क्लबका उपाध्यक्ष समिक्षा चौधरीले जनाएकी छन्।

प्रतियोगितामा महिलातर्फ बिनिता चौधरी कप्तानी रहेको समूह विजेता हुन सफल भयो भने समिक्षा चौधरी कप्तानी रहेको समूह उपविजेतामा भएको छ। पुरुषतर्फ भने आयोजक टीम ए विजेता भयो भने उपविजेता सिद्धनाथ फुटबल क्लब भयो। विजेता समूहलाई नगद ८ हजारसहित ट्रफी,मेडल र प्रमाण पत्र प्रदान गरिएकोमा उपविजेता समूहलाई नगद ४ हजार र मेडल,प्रमाणपत्र प्रदान गरिएको छ। प्रतियोगिता लिग प्रणालीबाट खेलाईएको थियो। प्रतियोगिता राष्ट्रिय माध्यमिक विद्यालय घोडाघोडी ५ देवकलियाको प्राङ्गणमा सम्पन्न भएको छ।

प्रतियगिताको समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रमको प्रमुख अतिथिमा घोडाघोडी नगरपालिकाका नगर प्रमुख खडक रावल, विशिष्ट अतिथिहरुमा वडा नं ५ का वडा अध्यक्ष लोक बहादुर चन्द,वडा सदस्य लक्ष्मी भण्डारी, पूर्व सुदुरपश्चिम प्रदेश राज्यमन्त्री तथा सांसद अमर साउँद, घोडाघोडी क्रिकेट एकेडेमीका सञ्चालक रमेश आचार्यको उपस्थिती रहेको थियो। वडाका सामाजिक अगुवा,नागरिक समाजका प्रतिनिधिहरु,राष्ट्रिय माध्यामिक विद्यालय देवकलीयाको विद्यालय व्यवस्थापन समितका प्रतिनिधिहरु, युवा क्लबका प्रतिनिधिहरु,सामुदायिक वन उपभोक्ता समितीका प्रतिनिधिहरु,गाउँ भलमन्साहरु,पत्रकारहरु तथा गाउँका बालक देखि वृद्धवृद्धासम्मको उपस्थिति थियो ।

कार्यक्रममा नगर प्रमूखले खेलाडीहरुले अनुशासित भएर खेल खेल्नुपर्छ,खेलाडीको गहना भनेकै अनुशासन रहेको बताए। प्रतियोगीता को दौरानमा अविरल बर्षा हुँदा पनि खेलाडीहरुले फुटबल खेलेको देखेर खुसी भएको बताए। नगर प्रमुखले खेलकुदलाई थप संवर्द्धन प्रबर्द्धन गर्न नगरपालिका सधैं अघि बढ्ने प्रतिबद्धता गरे।

उज्यालो नेपाल युवा क्लबका अध्यक्ष सुदिप बास्तोलाले कार्यक्रम समापन गर्दै भने ” हामीले हाम्रो क्लब गठन गरेको छोटो समयमै वडास्तरीय महिला तथा पुरुष फुटबल प्रतियोगिता गर्न सफल भएका छौँ। यो सफलता मा हामीलाई साथ दिने नगरपालिका,वडा कार्यालय,युवा क्लबका साथीहरु,सामाजिक अगुवाहरु लगायतका सम्पूर्ण सहयोगी मनहरुमा हार्दिक आभार व्यक्त गर्दछु। सधैं पुरुषको फुटबललाई मात्र प्राथमिकता दिने गरिएकोमा हाम्रो क्लबले यो वर्ष महिलालाई पनि खेलमैदानमा ल्याउन सफल भएकोमा हामी एकदमै खुशी भएका छौं। महिला समूहलाई हामीले प्रतियोगितामा मात्र हैन हामीले प्रशिक्षित समेत गर्दै आएका छौं।”

प्रतियगिताको समापन समारोह तथा पुरस्कार वितरण कार्यक्रम उज्यालो नेपाल युवा क्लबका अध्यक्ष सुदिप बास्तोलाको सभाध्यक्षमा सञ्चालन भएको थियो भने विजयराज जोशीले उक्त कार्यक्रम सञ्चालन गरेका थिए।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved ©KhabarUjyalo