KhabarUjyalo

अब के गर्छ डोटी कांग्रेस ?

२१ आश्विन २०७९, शुक्रबार
अब के गर्छ डोटी कांग्रेस ?

केन्द्रिय तहमा गठबन्धनबाट डोटीमा प्रतिनिधि तर्फ नेकपा एकीकृत समाजवादीको भागमा पर्ने चर्चा सुरु भएसंगै जिल्ला तहका नेता, कार्यकर्ता र शुभेच्छुकमा आगामी निर्वाचनको बारे चासो बढ्न थालेको छ । कांग्रेसको राजनीति बारेमा चिन्ता गर्ने, चासो राख्ने अग्रज व्यक्तिको गाउँबाट फोन आयो । उनी काङ्ग्रेसका इमान्दार कार्यकर्ता पनि हुन् । उनले हालखबर सोधपुछ गर्दै भने यो चुनौको के हुन लाग्याको छ भन्ना ? तमी त्या सिलगढीमा बस्या छौँ, कै था छ कि तमुखी ?? म नाजवाफ भएँ अनि भनेँ मलाई केही पनि थाहा छैन । फेरि उनले थपे – गठबन्धन हुन्या होकी नई भन्ना ? मैले भनेँ मलाई त्यो पनि थाहा छैन । उनले फेरि भने बलायर त अत्तरियाबाटी लड्डे भन्यो, काङ्ग्रेसका नेताहरू सबै मम अद्द लाग्या भन्यो काङ्ग्रेस भन्या हुन्या पनि बलायर हुनुभन्ना त आले नै ठिक छ भनेर देउवालाई कुरा लगाउना भन्यो । आलेका रुप्या लै खायो भन्या कुरा सुनिन्छ कसो हो भन्ना ? उनले बोल्दै गए म सुन्दै गएँ । यिनु काङ्ग्रेसका नेता हु भन्नेहरू यसैअरी काङ्ग्रेस सौत लाग्या । मिलिबर एकजनो लड्या पनि हुन्या थियो खाली अफू अफू केन लड्डा हुन् । उनका यी र यस्तै तमाम प्रश्नहरूको जवाफ मसंग केही पनि थिएन । म एकोहोरो सुन्दै गएँ । उनले भन्दै गए- पाँच वर्ष हामीले काङ्ग्रेस भएर नै तिनुका कार्यकर्ताका धम्की खेपेउ, घुर्की खायौ अझै तिनैलाई भोट दिनु पड्डेजस्ता अनेकौं पीडाका प्रश्नहरूको पहाड थियो ती काङ्ग्रेस कार्यकर्तासंग ।

वास्तवमा भन्ने हो भने यो प्रश्न यी कार्यकर्ताको मात्रै नभएर डोटी काङ्ग्रेसका आम कार्यकर्ताको प्रश्न थियो । अघिल्लो वर्षको असार महिनादेखि काङ्ग्रेस नेतृत्वमा केन्द्रमा गठबन्धनको सरकार भएपनि सुदूरपश्चिम प्रदेशको सरकारको नेतृत्व माओवादीले गरेको थियो त्यसमा पनि सुदूरपश्चिम सरकारको नेतृत्व डोटीले नै गरेको थियो तर डोटी काङ्ग्रेस जनहरूलाई सुदूरपश्चिम प्रदेश सरकार गठबन्धनको हो भन्ने अनुभूति नै थिएन । काङ्ग्रेस जनहरूका अनुभूति विगतका पाँच वर्ष अत्यन्तै पीडादायी थिए । यी र यस्तै कारणले डोटी काङ्ग्रेसले हिजो पीडा दिने दलहरूलाई काधमा काध बोकेर हिड्नसक्छ वा बिद्रोह गर्छ ? गठबन्धन भयो भने एकवटा प्रतिनिधि र दुईवटा प्रदेश सभामध्ये काङ्ग्रेसले प्रदेश सभा(क) मात्रै पाउने छ भने प्रदेश ख माओवादी केन्द्र र प्रतिनिधि सभामा समाजवादीले पाउने छ ।
हिजोदेखिको जनप्रतिनिधि बिहिनताको अनुभूतिजस्तै रहेको काङ्ग्रेस जनहरूमा अझै पनि जनप्रतिनिधि बिहिनताको अनुभूति रहने संकेत स्पष्ट देखिएको छ । झन् डोटी प्रदेश(ख) मा लामो समयदेखि काङ्ग्रेस जनप्रतिनिधिबिहिन छ । यस अवस्थामा काङ्ग्रेसका साथीहरूले केन्द्र काङ्ग्रेसले दिएको निर्देशनको व्यवास्था गर्दै स्थानीय निर्वाचनमा देखाएको एकताको भाव यो निर्वाचनमा पनि देखाउछ वा देखाउदैन ??
नेपाली काङ्ग्रेस डोटीका कार्यकर्ताले डोटी काङ्ग्रेस केन्द्र काङ्ग्रेसको निर्देशनको पालक मात्रै भएर बस्ने हो कि डोटेली जनताको जिम्मेवारी लिएर अभिभावक भएर बस्ने हो ? विगतका पाँच वर्ष झै अझैपनि काङ्ग्रेस कार्यकर्ता अभिभावकबिहिन भएर बस्नुपर्ने हो ?? यी र यस्त्तै प्रश्नहरूको समाधानका लागि काङ्ग्रेसका कार्यकर्ताहरूले एक ठाउँमा उभिन जरुरी छ । डोटेली जनताको खोसिएको अधिकार फिर्ता गर्नका लागी पनि काङ्ग्रेसले प्रदेश र प्रतिनिधि सभामा आफ्नो उम्मेदवार लडाउने हो वा केन्द्र काङ्ग्रेसको पालक भएर बस्ने हो ?
लगायतका सवालहरू प्रदेश र प्रतिनिधि सभाको चुनावको मनोनयनको मिति नजिकिएसंगै काङ्ग्रेस कार्यकर्ताका बिच देखिन्छ । गठबन्धनले निम्त्याएको अन्योलताले अब डोटी काङ्ग्रेसले के गर्छ भन्ने विषय आम कार्यकर्ताका माझ देखिएको छ । काङ्ग्रेसका आम कार्यकर्तामा गठबन्धन हुन्छ वा हुँदैन ? गठबन्धन भयो भने काङ्ग्रेसले स्वतन्त्र उम्मेदवार उठाउछ वा उठाउदैन ?? भन्ने प्रश्न डोटीका काङ्ग्रेस कार्यकर्ताका मनमा खेलिरहेका छन् । डोटीका काङ्ग्रेस नेताहरूको सबैको आवाज एक थियो त्यो हो डोटीमा काङ्ग्रेसले गठबन्धन कुनै हालतमा गर्नु हुँदैन । सबै नेता कार्यकर्ताको बोलि गठबन्धन गर्नु हुँदैन भन्ने थियो भने व्यवहारमा त्यो कति सार्थक हुनेछ । काङ्ग्रेस कार्यकर्ता र नेताहरूले आफ्नो बोलिलाई व्यवहारमा परिणत गरी सार्थक नतिजाको खोजीमा लाग्नेछन् वा जुँगाको लडाइँमा मात्रै सिमित रहनेछन् ।
स्थानीय तहको निर्वाचनमा पनि नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिले डोटीमा गठबन्धन हुनपर्छ भनेर भन्यो तर डोटी काङ्ग्रेसले केन्द्रको कुरालाई व्यवास्था गर्दै एक्लै चुनावी मैदानमा होमियो फलस्वरूप राम्रो परिणाम हात पार्यो । अझै पनि स्थानीय निर्वाचनको सिको गर्दै यो निर्वाचनमा पनि केन्द्रको निर्देशन व्यवास्था गर्दै डोटी काङ्ग्रेस अगाडि बढ्नुपर्छ भन्ने कार्यकर्ताहरूको जोड छ ।
स्थानीय तहको निर्वाचनमा एक्लै चुनावी मैदानमा होमिदा काङ्ग्रेसले जिल्लाका ९ स्थानीय तहमध्ये ७ स्थानीय तहमा प्रमुख उपप्रमुख र एक स्थानीय तहमा उपाध्यक्ष जित्न सफल भयो । डोटी काङ्ग्रेसले प्राप्त गरेको स्थानीय तहको परिणामले निकट भविस्यमै आउन लागेको प्रदेश र प्रतिनिधि सभाको चुनावको परिणामलाई पनि स्पष्ट संकेत काङ्ग्रेसका पक्षमा देखिन्थ्यो । त्यसकारणले पनि डोटी काङ्ग्रेस जनमा नयाँ उत्साह र उमंग थपिएको थियो । डोटी काङ्ग्रेसले स्थानीय निर्वाचनबाट प्राप्त उत्साह र उमंगलाई आत्मसात गर्दै गठबन्धनको कुनै प्रवाह नगरी अगाडि बढ्न आवश्यक देखिन्छ ।
स्थानीय तहको निर्वाचनको परिणामलाई हेरेर डोटी काङ्ग्रेसले डोटीमा गठबन्धन हुनुहुदैन भनेर पटकपटक आवाज उठाउदै आएको थियो तर प्रायः गठबन्धन हुने निश्चितजस्तै सुनिन्छ यस अवस्थामा डोटी काङ्ग्रेसले गठबन्धनलाई नै आत्मसात गर्छ वा आफ्नो अलग्गै उम्मेदवार खडा गरि अघि बढ्छ । गठबन्धन भनेपछि डोटीका काङ्ग्रेस जनहरूमा स्पष्टै बितृष्णाका भाव सामाजिक संज्यालमा छरपस्ट पोखिएका देखिन्थे । अब मनोनयनको मिति नजिकिएसंगै डोटी काङ्ग्रेसले के गर्छ भन्ने सवाल काङ्ग्रेस कार्यकर्ता, शुभचिन्तक आदिको चिन्ता र चासोको विषय बनेको छ ।

फणीन्द्र साउँद
डाेटी

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo