KhabarUjyalo

कठरिया थारु समुदायमा आजबाट दशैंको रौनक सुरु, आज पहिलोदिन देउतालाई स्नान गर्न पठाईदै

७ आश्विन २०७८, बिहीबार
कठरिया थारु समुदायमा आजबाट दशैंको रौनक सुरु, आज पहिलोदिन देउतालाई स्नान गर्न पठाईदै

कठरिया थारु समुदायमा आजबाट दशैं (अठैंयाँ) को रौनक सुरु भएको छ । आज पहिलो दिन सो समुदायले आफ्ना पितृ अर्थात देउताहरुलाई स्नान गर्न पठाई दशैं (अठैंयाँ) को सुरुवात गरेका हुन् ।

हरेक बर्ष आश्विन द्धितीया, कृष्णपक्ष (क्वाँर अंधेरी, दुइज) का दिन कठरिया थारुहरुले आफ्ना देउताहरुलाई मानसरोवरमा स्नान गर्न पठाउने गर्दछन् । सोहि दिन देखि यो समुदायमा बडा दशैं सुरुवात भएको मानिन्छ ।
आजका दिन कठरियाहरुले घरको भित्र (मझेरी) र बाहिर (आँगन) मा बनाईका माटाका देविदेउता (दिउँता) हरुमा दियो वालि पुजा गर्ने गरेको जोशीपुर गाउँका भल्मन्सा मुलचन्द्र कठरियाले बताए । उनले दिउँताहरुमा घरको मुलिले छाकी (रक्सी) चढाई पुजा गर्ने गरेको बताए ।

देउता स्नान गर्न पठाउने दिन दाल, भात, माछाको तरकारी पकाई सर्बप्रथम देउता अर्थात पितृहरुलाई खानका लागि दिने र त्यसपछि घरका सबैले प्रसादको रुपमा खाना खाने प्रचलन यो समुदायमा रहि आएको छ ।

आज पुजापाठ गरि स्नान गर्न पठाईएका देवि देउताहरु एक पाख अर्थात पन्ध्रौं दिन पछि नुहाएर फर्किन्छन् त्यो दिन शुक्ल पक्षको द्वितिय (उजेरिक दुइज) पर्छ, अर्थात २१ गते घट्स्थापनाको दिन त्यो दिन कठरिया समुदायमा आफ्नो पितृहरुको दरि (सफा कपडा) ओछ्याएर, फुलमाला, पानी, दाल, भात, माछाको तरकारी तथा चढाएको हुक्का राखेर स्वागत गरिन्छ ।

यस्तो गर्नु भनेको पितृ खुसी हुने र परिवारमा दुख, कष्ट कम हुने मान्यता रहेको भारत धुसकियाका ब्रहमानन्द कठरियाले बताए ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo