धनगढी : नेत्र बहादुर चन्द ‘बिप्लव’ समुहले कैलालीमा जग्गा कब्जा गरेको छ । रणबहादुर शाहको गोदावरी नगरपालिका वडा नम्बर ७ स्थित २२ बिगाह जग्गा कब्जा गरेको हो ।
लामो समयदेखि नेकपाको कब्जामा रहेको उक्त जमिन मङ्गलबार नेकपाको टोलीले पुनकब्जा गर्दै जमिन आफ्नो पार्टीको कब्जामा रहेको र विक्रिवितरण नगर्न ,पार्टीको सहमतिबिना उपभोग गर्न रोक लगाएको सुचनासहितको व्यानर टाँगेको छ। आफ्नो पार्टीको नियन्त्रणमा रहेको जमिन जबर्जस्ति सुकुम्बासीको उठीबास गराइएको र हाल विभिन्न व्यक्तिहरूले अनधिकृत रूपमा चलखेल गर्न खोजिरहेको सुचना आएपछि पुन नियन्त्रणमा लिएर चलखेल नगर्न सुचित गरिएको नेकपा कैलाली सेक्रेटरी दिपेन्द्र चलाउनेले जानकारी दिए।
शाहको उक्त जग्गा जनयुद्धकालमा तत्कालीन नेकपा माओवादीले कब्जामा लिएर सुकुम्बासी बस्ति बसाएको थियो। सरकारसँग विस्तृत शान्तिसम्झौता गरेको माओवादीले शान्तिप्रक्रियामा आएपछि कब्जामा लिएका जग्गाजमिन लगायत सम्पत्ति फिर्ता गर्ने र जग्गाको समुचित वितरण गर्न वैज्ञानिक भूमिसुधार लागु गर्ने सहमति भएको थियो।