KhabarUjyalo

नेपालमा उत्पादित लप्सीको अचारलाई बेलायतमा ‘ग्रेट टेष्ट’ अवार्ड

६ आश्विन २०७८, बुधबार
नेपालमा उत्पादित लप्सीको अचारलाई बेलायतमा ‘ग्रेट टेष्ट’ अवार्ड

लन्डन । नेपाल र नेपालीमाझ लोकप्रिय बन्दै आएको  लप्सीको अचार बेलायतमा भएको एक प्रतियोगितामा समेत उत्कृष्ट बन्न सफल भएको छ । करिब चार वर्ष अघिदेखि बेलायतमा नेपाली खाद्य सामग्रीहरू आपूर्ति गर्दै आएको र नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्दै आएको नेपाल फुड्स प्रा लि द्वारा उत्पादन तथा वितरण हुँदै आएको ‘हट एण्ड स्वीट लप्सी पिकल’ ले ‘गिल्ड अफ फाइन फुड’ द्वारा बेलायतमा आयोजना गरिएको प्रतियोगितामा ‘ग्रेट टेष्ट २०२१’ को वान स्टार उपाधि हात पारेको छ । प्रतियोगितामा अन्य थुप्रै नेपाली उत्पादनहरू समावेश गरिएको भए पनि लप्सीको अचारलाई निर्णायक मण्डलले रुचाएका थिए ।

सो प्रतियोगितामा विश्वका १०८ मुलुकबाट  १४ हजार ११३ वटा उत्पादनहरूबीचमा प्रतिस्पर्धा भएको थियो । निर्णायक मण्डलमा तीन सय ५५ जना विभिन्न चर्चित निर्णायकहरू जोआना ब्लिथम्यान,खोज पत्रकार र खाद्य लेखक, मास्टर सेफ, सेफ, कुक लगायतका विशिष्ट व्यक्तिहरू रहेका थिए ।

प्रतियोगितामा २१८ लाई ग्रेट टेष्ट थ्री स्टार, एक हजार १३८ लाई ग्रेट टेष्ट टु स्टार र ४ हजार २२ लाई ग्रेट टेष्ट वान स्टार, अवार्ड प्रदान गरिएको थियो । सन् १९९४ मा स्थापित भएको उक्त कम्पनी संसारकै सबैभन्दा ठुलो र लामो समयसम्म निरन्तर चल्दै आएको विश्वसनीय र सम्मानित संस्था हो ।

नेपाल फुड्सको उत्पादन बफेलो सुकुटीले सन् २०१९ मा ग्रेट टेष्ट अवार्ड २०१९ पाएको भए पनि सुकुटी बेलायतमा नै तयार भएकोले नेपालको उत्पादन थिएन । तर, लप्सीको अचार भने शतप्रतिशत नेपालकै उत्पादन भएकोले नेपाल र नेपालीकै लागि गौरवको विषय भएको नेपाल फुड्सका निर्देशक विकास  नेपालले बताए । यस कम्पनीले विशेष गरी दाल, चामल, कोदोको पीठो, फापरको पीठो, वाइवाइ, चिउरा, सुकुटी, विभिन्न प्रकारका नेपाली अचार, गुन्द्रुक, मःम, मार्सी चामल, दाल, फापरको पिठो, मकैको च्याख्ला, गुन्द्रुक, चटपटे भुजा,लाखामरी लगायतका सैयौँको सङ्ख्यामा नेपाली उत्पादनलाई अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्दै आएको छ ।

उत्कृष्ट र आकर्षक डिजाइनमा  प्याकेजिङ गरिएकाले विदेशी ग्राहकसमेत आकर्षित हुने गरेका छन् । नेपाल फुड्सका उत्पादनहरू युरोप, अष्ट्रेलियालगायतका मुलुकमा उपलब्ध हुने नेपालले बताए । गुणस्तरीय र विश्वसनीय भएका कारण कम्पनीले आइएसओ सर्टिफाइड को प्रमाणसमेत प्राप्त गरेको छ । बेलायतका विभिन्न स्थानहरूमा डेलिभरी गर्ने व्यवस्था भएकोले नेपाल फुड्सले थुप्रै नेपाली उत्पादनलाई विक्री वितरण गर्दै आएको छ ।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo