धनगढी : शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले शिक्षण अस्पतालका लागि स्वास्थ्य सेवातर्फ विभिन्न श्रेणीका १५१ पदमा पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ।
विश्वविद्यालयले मेडिकल अधिकृत, डेन्टल सर्जन, नर्सिङ अधिकृत, स्टाफ नर्सलगायत चिकित्सकीय तथा स्वास्थ्य सेवातर्फका विभिन्न १३ पदमा कर्मचारी माग गरेको हो।
विश्वविद्यालयले सार्वजनिक गरेको विज्ञापनअनुसार स्वास्थ्य सेवा आठौँ श्रेणीअन्तर्गत मेडिकल अधिकृत १० जना, डेन्टल सर्जन ४ जना र बायोमेडिकल इन्जिनियर १ जना गरी १५ पदमा दरखास्त आह्वान गरिएको छ।
त्यस्तै, स्वास्थ्य सेवा सातौँ श्रेणीअन्तर्गत नर्सिङ अधिकृत १० जना, रेडियोग्राफी अधिकृत १ जना, फार्मेसी अधिकृत २ जना, फिजियोथेरापी अधिकृत २ जना र ल्याब टेक्नोलोजिस्ट ३ जना गरी १८ पदमा कर्मचारी माग गरिएको छ।
सहायक पाँचौँ तहमा सबैभन्दा धेरै स्टाफ नर्स ९० जना माग गरिएको छ। यसै तहअन्तर्गत ल्याब टेक्निसियन १० जना, रेडियोग्राफर ६ जना, फिजियोथेरापी सहायक २ जना र फार्मेसी सहायक १० जना गरी ११८ पदमा पदपूर्ति गरिने विश्वविद्यालयले जनाएको छ।
यसरी विश्वविद्यालयले शिक्षण अस्पतालका लागि अधिकृतदेखि सहायक तहसम्म गरी कुल १५१ स्वास्थ्यकर्मी नियुक्त गर्ने तयारी गरेको छ।
स्वास्थ्यकर्मी पदपूर्तिसँगै शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले चिकित्सा क्षेत्रका विभिन्न शैक्षिक कार्यक्रम सञ्चालनको तयारीसमेत अघि बढाएको जनाएको छ।



