काठमाडौं । नेकपा (एमाले) को प्रथम विधान महाधिवेशन भालि (शुक्रबार)देखि शुरु हुँदैछ । काठमाडौंको गोदावरीमा तीन दिनसम्म चलने विधान महाधिवेशन प्रभु साह समूहले बहिष्कार गर्ने भएको छ ।
पूर्वमन्त्री एवं एमाले केन्द्रीय सदस्य साहले दुई हप्ताअघि पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई आठ बुँदे मागसहितको पत्र बुझाएका थिए । तर, सो माग पत्रको बारेमा पार्टी नेतृत्व गम्भीर नभएको भन्दै साह समूहले विधान महाधिवेशन बहिष्कार गर्ने निष्कर्षमा पुगेको हो ।
पूर्वमाओवादीबाट तत्कालिन नेकपामै रहेर ओली समूहलाई साथ दिँदै आएको साहको समूहले नेतृत्वलाई बुझाएको माग पत्र सम्बोधन नभए विधान महाधिवेशन बहिष्कार गर्ने चेतावनी दिएको छ । सर्वोच्च अदालतले एमाले र माओवादी केन्द्र व्यूताएपछि एमालेमै रहेका साह पछिल्लो समय पार्टी नेतृत्वबाट असन्तुष्ट छन् ।
‘हाम्रो माग सम्बोधन भयो भने हामी विधान महाधिवेशनमा सहभागी हुन्छौं । हुँदैन भने बहिष्कार गर्छाैँ, हामी सहभागी हुँदैनौं’ साह निकटका एक नेताले भने, ‘अहिलेसम्म हाम्रा मागका बारेमा केही छलफल भएको छैन्, यस्तो अवस्थामा हामी कसरी सहभागी हुने ?’