KhabarUjyalo

‘कांग्रेसमा अहिलेसम्म महिलालाई भोटर मात्र बनायो अब शीर्ष नेतृत्व तहमा आरक्षण गर्नु पर्छ’

१४ आश्विन २०७८, बिहीबार
‘कांग्रेसमा अहिलेसम्म महिलालाई भोटर मात्र बनायो अब शीर्ष नेतृत्व तहमा आरक्षण गर्नु पर्छ’

नेपाली कांग्रेसमा १४ औं महाधिवेशन नजिकिँदै गर्दा नेतृत्वमा महिलाबारे बहस सुरू भएको छ।

कांग्रेस विधानमा पार्टीका हरेक तहमा ३३ प्रतिशत महिला हुनुपर्ने व्यवस्था भए पनि त्यो अपुग रहेको भन्दै नेतृहरूले आरक्षण बढाउनु पर्ने माग गरेका छन्।

सोमबार नेपाल महिला संघले गरेको ‘महिलाको नेतृत्व र विधान तथा क्रियाशील सदस्यको सवाल’ भर्चुअल अन्तर्क्रियामा कांग्रेसका सभापति शेरबहादुर देउवाकी पत्नी आरजु राणा देउवासहित नेतृहरूले कांग्रेसको शीर्ष नेतृत्व तहमा महिलाहरूका लागि आरक्षण गर्नु पर्ने माग गरे।

कार्यक्रममा बोल्दै नेतृ आरजुले कांग्रेसमा महिला अहिलेसम्म भोटरमात्र बनाइएको बताइन्।

‘यति धेरै पदाधिकारी मध्ये सहमहामन्त्रीमा मात्रै महिला? हामी सधैं भोटर मात्रै भएर बस्ने हो?,’ उनको प्रश्न छ, ‘सहमहामन्त्रीमा महिलालाई सीमित गरिनु हुन्न। सभापतिमा भिड्न सक्ने महिला कम होलान् तर अरू पदमा त भिड्न सक्ने छन् नि! म त कुनै पदमा उठ्नेवाला छैन।’

उनले पार्टीका कुन तहको कुन पदमा महिला हुनुपर्छ भन्ने उल्लेख गरेर सभापतिलाई नेतृहरूले पत्राचार गर्नुपर्ने पनि बताइन्।

‘भोटर मात्रै भएर बसेको धेरै भयो, अब महिलाहरू पदाधिकारी बन्नुपर्‍यो,’ उनले भनिन्, ‘भोट हाल्न मंगलादेवी सिंहले नै दिएको हो। महिलालाई मन्त्री त बिपीले बनाइसक्नुभयो।’

उनले महिलालाई क्रियाशील सदस्यता दिन बखेडा नगर्न पनि आग्रह गरिन्।

‘धेरै बखेडा नगरी विवेक प्रयोग गरेर कम्तीमा ४० प्रतिशत क्रियाशील सदस्यता महिलालाई दिनुपर्छ,’ आरजुले भनिन्।

आरजुको जस्तै गुनासो र प्रश्न अन्तर्क्रियामा सहभागी अरू नेतृहरूले पनि देउवालाई सुनाए।

महिलालाई क्रियाशील सदस्यता दिन नै कन्जुस्याइँ गरिएको महिला संघकी केन्द्रीय अध्यक्ष उमा रेग्मीको भनाइ छ।

‘महिलाले क्रियाशील सदस्यता नै पाउन सकेनन्,’ उनले भनिन्, ‘३३ प्रतिशत महिला हुनुपर्ने विधानमा व्यवस्था छ तर त्यसले पुगेन। कम्तीमा ४० प्रतिशत महिलाले क्रियाशील सदस्यता पाउनुपर्छ।’

महिलाहरूले आफूलाई क्रियाशील सदस्यता नदिइएको गुनासो गरेको उनले बताइन्।

‘जिल्ला जिल्लाबाट महिलाहरूले हामीलाई क्रियाशील दिइएन भनेका छन्। फारम लुकाइयो भनेका छन्,’ उनले भनिन्, ‘कम्तीमा ४० प्रतिशत क्रियाशील सदस्यता महिलालाई दिनुपर्छ भनेर सभापतिले जिल्लामा निर्देशन दिनुपर्‍यो।’

कतिपय नेताले भाषण गर्दा महिला राष्ट्रपति भइसके, सभामुख भइसके अब महिलालाई के चाहियो? भन्ने सुनिएको उल्लेख गर्दै रेग्मीले सभामुख र राष्ट्रपति कांग्रेसले नभई कम्युनिष्टले बनाएको बताइन्।

‘हामीलाई गाउँमा महिलाले सोध्छन् कांग्रेसमा महिला नेता को हुन्? नेतृत्वपंक्तिमा महिलाको पहुँच छ?,’ उनले भनिन्, ‘हाम्रो पार्टीमा जेलनेल खाएका, दु:ख गरेर तलैदेखि आएका महिला छन्। पार्टीले नेतृत्वमा पुर्‍याउने अवसर र वातावरण बनाउनुपर्‍यो।’

कार्यक्रममा बोल्दै महिला संघकी उपाध्यक्ष सरस्वती अर्याल तिवारीले महिलालाई क्रियाशील सदस्यता नै नदिने गरेको बताइन्।

‘२० वर्ष पहिले साधारण सदस्यता लिएको महिलाले क्रियाशील सदस्यता लिन नेताका ढोका धाउनुपर्ने अवस्था छ,’ उनले भनिन्, ‘किन क्रियाशील दिनुभएन भनेर जिल्ला सभापतिलाई फोन गर्दा एक तिहाइ क्रियाशील दिने निर्देशन केन्द्रबाट आएकै छैन भन्ने जवाफ आउँछ।’

उनले कम्तीमा ४० प्रतिशत क्रियाशील सदस्यता महिलालाई दिनुपर्ने माग राखेर केही पहिले सभापति देउवालाई महिला संघले ज्ञापन पत्र बुझाए पनि त्यो कार्यान्वयनमा नआएको बताइन्।

‘सभापतिले जिल्ला सभापतिलाई निर्देशन दिनुपर्‍यो- क्रियाशील सदस्यता देऊ भनेर,’ उनले भनिन्, ‘उपसभापति, महामन्त्रीमा महिला छैन। नेतृत्वमा महिला कहिँकतै तोकेको छैन।’

सहमहामन्त्रीमा महिला तोकेजस्तै क्षेत्रीय सभापति वा केही जिल्ला सभापतिमा महिला नै हुनुपर्ने व्यवस्था गर्न पनि उनले माग गरिन्।

‘सहमहामन्त्रीमा मात्रै महिला सुनिश्चित छ। तर यति धेरै क्षेत्रीय सभापतिमा एक तिहाइ महिला सभापति हुनुपर्‍यो भनेर किन तोकिएन? जिल्ला सभापतिमा पनि महिला हुनुपर्छ भनिदिएको भए नेतृत्वमा महिला ल्याउन सहज वातावरण बन्थ्यो।’

नेतृत्वमा महिला सुनिश्चितता नहुँदा संगठन विस्तारमा समस्या हुने गरेको उनले सुनाइन्।

‘गाउँका महिलालाई संगठित नगरेसम्म कांग्रेस बलियो बनाउन गाह्रो छ,’ उनले भनिन्, ‘अर्काले भनेको भरमा होइन राजनीति गरेको, पार्टीमा खटेर काम गरेको आधारमा महिलालाई नेतृत्वमा ल्याउनुपर्छ।’

अन्तर्क्रियामा नेतृहरूलाई जवाफ दिँदै सभापति देउवाले पार्टीभित्र आरक्षण थप गर्न केही आपत्ति नभएको बताए।

महिलालाई ४० प्रतिशत नै क्रियाशील दिन आफू तयार रहेको, केन्द्रीय समितिबाट पनि पास गरिदिने तर पार्टीमा भोट बढ्नु पर्ने उनको तर्क छ।

‘आरक्षण बढाउन केही आपत्ति छैन। ३३ प्रतिशत होइन ४० नै राखुम् केही छैन तर भोट चाहियो,’ उनले भने, ‘चुनावमा हाम्रो पार्टीका महिला हार्ने अर्को पार्टीका जित्ने हुनु भएन।’ अरू पार्टीले कांग्रेसको जस्तो पार्टीमा ३३ प्रतिशत आरक्षण नदिएको पनि देउवाको दाबी छ।

पार्टीका नेतृहरूले चुनाव जितेर आउनु पर्ने उनले बताए। समानुपातिकमा महिलालाई सांसद बनाइएको भन्दै उनले सधैं एकै महिलाले अवसर पाएकोमा विरोध हुने गरेको पनि उल्लेख गरे।

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo