काठमाडौं । सरकारले आज साँझसम्म मन्त्रीपरिषद विस्तार गर्ने तयारी गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले विहीबार सत्ता गठबन्धनमा आवद्ध दलहरुसँग छलफल गरि साँझसम्म मन्त्रीपरिषद विस्तार गर्ने तयारी गर्नु भएको हो ।
त्यसका लागि प्रधानमन्त्री देउवाले विहीबार सत्ता गठबन्धनमा आवद्ध दलको बैठक बोलाउनु भएको छ । लामो समयदेखि मिति सर्दै आएको मन्त्रिपरिषद विस्तार गर्नका लागि प्रधानमन्त्रीले गठबन्धनको बैठक आह्वान गर्नु भएको हो ।
यसअघि बसेको गठबन्धन बैठकले दल विभाजन सम्बन्धी अध्यादेश खारेज गर्ने र तत्काल मन्त्रिपरिषद् विस्तार गर्ने समझदारी गरेको थियो । तर अध्यादेश खारेज भएको तीन दिन वितिसक्दा पनि मन्त्रीपरिषद् विस्तार हुन सकेको छैन । गठबन्धनमा मन्त्रालयको भागबण्डा नमिल्दा मन्त्रिपरिषद विस्तार हुन नसकेको बताइएको छ ।
यसै विषयमा बुधबार बिहान प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच पनि लामो छलफल भएको थियो । दाहालसँगको भेटपछि देउवाले गठबन्धनको बैठक बोलाउनु भएको हो ।