काठमाडौं – सरकार गठन भएको साढे दुई महिनापछि प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिमण्डल विस्तार गर्ने गृहकार्य अगाडि बढाएका छन् ।
सत्ता गठबन्धनका दलहरूको आग्रहमा सोमबार राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज भएसँगै प्रधानमन्त्री देउवाले मन्त्रिमण्डललाई पूर्णता दिन लागेका हुन् ।
सत्ता गठबन्धनमा रहेका चार दलबीच कांग्रेसले सात मन्त्रालय र माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाले ६/६ मन्त्रालय लिने विषयमा समझदारी बनेको छ।
गृह, अर्थ, ऊर्जा, न्याय, कानुन तथा संसदीय मामिला, परराष्ट्र र स्वास्थ्य राज्यमन्त्री नियुक्त गरिसकेका प्रधानमन्त्री देउवाले थप १६ मन्त्री नियुक्त गर्नेछन ।
सत्ता साझेदार दल नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीले सरकारमा सहभागी हुने ६ जना मन्त्रीहरूको नाम बुझाइसकेको बताइएको छ ।
गठबन्धनका दलबीच भएको सहमतिअनुसार कांग्रेसले ७, माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) ले ५/५ जना मन्त्री र एक/एक जना राज्यमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) ४ जना मन्त्री र एक जना राज्यमन्त्री बनाउन पाउनेछन्। तर यसको अन्तिम टुंगो फेरि बस्ने गठबन्धन बैठकले लगाउनेछ।
चार दलबाट को बन्लान् मन्त्री?
१. कांग्रेस
कांग्रेसले पाउने ७ मन्त्रालयमध्ये प्रधानमन्त्री देउवाले ४ जना मन्त्री नियुक्ति गरिसकेका छन्। गत असार २९ गते आफूले पदको शपथ लिएको दिन प्रधानमन्त्री देउवाले आफूनिकट बालकृष्ण खाँणलाई गृह र ज्ञानेन्द्र कार्कीलाई कानुनमन्त्री बनाइसकेका छन् भने साउन १० गते उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्ति गरिसकेका छन्।
यस्तै यही असोज ६ गते देउवाले आफू निकटकै नेता डा. नारायण खड्कालाई परराष्ट्रमन्त्री बनाइसकेका छन्। अब कांग्रेसको भागमा तीन मन्त्रालय मात्र बाँकी छ।
कांग्रेस स्रोतका अनुसार तीमध्ये अब दुई मन्त्री वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष र एउटा मन्त्री कृष्ण सिटौला समूहबाट बनाउने छलफल भइरहेको छ।
एक नेताका अनुसार पौडेल पक्षबाट सुजाता कोइराला र तेजुलाल चौधरीको सम्भावना बलियो देखिएको छ। त्यस्तै सिटौला समूहबाट उमाकान्त चौधरी र भीमसेनदास प्रधानमध्ये एक जनाको नाम पठाइने स्रोतको दाबी छ।
२. माओवादी केन्द्र
सहमतिअनुसार पाँच मन्त्री र एक जना राज्यमन्त्रीको दाबेदार माओवादी केन्द्रले यसअघि जनार्दन शर्मा (अर्थमन्त्री) र पम्फा भुसाल (ऊर्जामन्त्री) लाई सरकारमा पठाइसकेको छ। अब उसले राज्यमन्त्रीसमेत चार जना मन्त्री पठाउन बाँकी छ।
यसका लागि मन्त्री छान्ने जिम्मा पाएका अध्यक्ष प्रचण्ड अहिले आन्तरिक छलफलमा छन्। आजै बस्ने स्थायी कमिटी बैठकले मन्त्रीको नाम टुंगो लगाउने तयारी छ।
मओवादी केन्द्रका एक नेताका अनुसार अब पार्टीबाट हरिबोल गजुरेल, देवेन्द्र पौडेल, सुरेशकुमार राई र सुदन किरातीमध्येबाट दुई जना मन्त्री बन्ने छन्। यस्तै महिलाबाट जयपुरी घर्ती, अञ्जना विशंखे र शशी श्रेष्ठमध्ये एकजना छानिने सम्भावना छ।
यस्तै मधेसी समुदायबाट मातृका यादव, अमनलाल मोदी र शिवकुमार मण्डलमध्ये एक जनाकाे सम्भावना देखिएको स्रोतको भनाइ छ।
३. नेकपा एकीकृत समाजवादी
नेकपा एमालेबाट अलग भएको माधवकुमार नेपाल पक्षद्वारा नवगठित नेकपा (एकीकृत समाजवादी) ले पनि गठबन्धन सहमतिअनुसार एक राज्यमन्त्रीसमेत ६ जना मन्त्री सरकारमा पठाउने तयारी गरेको छ।
उसले भने नेता मन्त्री बनाउनेको नाम लगभग टुंगो लगाइसकेको छ। उनीहरू हुन्– विरोध खतिवडा, मेटमणि चौधरी, शेरबहादुर कुँवर, रामकुमारी झाँक्री, प्रेम आले र जीवनराम श्रेष्ठ। बाँकी एक मन्त्रीमा भने भवानी खापुङ र किसान श्रेष्ठमध्ये एक जनाको नाम पठाउने कुरा छ।
४. जसपा
यस्तै जनता समाजवादी पार्टीले पनि एक जना राज्यमन्त्रीसहित ६ जना सरकारमा पठाउँदै छ। मन्त्री छान्ने जिम्मा पार्टीका अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र वरिष्ठ नेता अशोक राईले पाएका छन्।
जसपाका एक नेताका अनुसार राजेन्द्र श्रेष्ठ, महेन्द्र राय यादव, मृगेन्द्र सिंह, प्रमोद साह र रेणु यादवलाई मन्त्री बनाउने लगभग टुंगो भइसकेको छ।