धनगढी, सुत्केरीको मृत्युको तीन दिनसम्म पनि आफन्तले अस्पतालबाट शव उठाएका छैनन । मृतकका आफन्तले अस्पतालको लापरबाहीका कारण अनहकमा ज्यान गुमाउनु परेको भन्दै शव उठाउन नमानेका हुन ।
शनिबार सुत्केरी ब्यथा लागेपछि धनगढीको नवजीवन अस्पताल पुगेकी डोटीको शिखर नगरपालिका ६ की २६ वर्षीया कल्पना सिंह मल्लको आइतबार बिहान मृत्यु भएको थियो।महिनौँअघिदेखि चेकजाँच गर्दै आएका डाक्टरले बिरामीको अवस्था थाहा नपाउनु लापरबाहीको पारकाष्ठा रहेको मृतकका आफन्तले बताउदै आएका छन । बिरामी स्वयंले अप्रेसनका लागि अनुरोध गर्दा पनि चिकित्सकले भ्याकुम प्रयोग गर्दा मृत्यु भएको दावी आफन्तले गरेका छन ।
आफन्तले घटनाको छानबिन र दोषीलाई कारबाहीको माग राख्दै माग सम्बोधन नभएसम्म मृतकको शव नउठाउने अडान लिएका छन् । सोमबार दिनभर जिल्ला प्रशासन कार्यलय कैलालीमा बस्दा पनि सहमति हुन नसकेपछि आज पुन: जिल्ला प्रशासनमा सहमतिको प्रयास भैरहेको छ ।
यता नवजीवन अस्पतालका स्त्रीरोग विशेषज्ञ डाक्टर जयराज केसीले सुत्केरी मल्लको उच्च रक्तस्रावका कारण मृत्यु भएको बताएका छन । अस्पतालका विशेषज्ञ चिकित्सले हरप्रयास गर्दा पनि सुत्केरी महिलालाई बचाउन नसकिएको अस्पताल प्रशासनले जनाएको छ ।