११ असाेज, एजेन्सी।
तालिवान सरकारले अफगानिस्तानको पश्चिमी शहर हेरातको एक सार्वजनिक स्थलमा अपहरणकारीको अभियोग लगाइएका चारजना पुरुषको लास झुण्ड्याएको छ ।
अलोकप्रिय तालिवान समूहले अंगभंग गर्ने र मृत्युदण्ड दिनेजस्ता कडा सजायलाई पुनः कार्यान्वयनमा ल्याइने बताएको भोलिपल्टै यसरी भयावह तरिकाले लास प्रदर्शन गरिएको हो । सबैलाई चेतावनी दिने उद्देश्यले यो कदम उठाइएको हुनुपर्ने राजनीतिक विश्लेषकहरूको भनाइ छ ।
एकजना स्थानीय सरकारी अधिकारीका अनुसार एकजना व्यापारी र उनका छोेरालाई अपहरण गरेको भनिएका तिनीहरू तालिवान लडाकुसँगको गोली हानाहानमा मारिएका थिए । एउटा लास शहरको मध्य भागमा एउटा क्रेनमा झुण्ड्याइएको एसोसिएटेड प्रेसले पुष्टि गरेको छ ।
एकजना स्थानीय पसले वाजिर अहमद सिद्धिकीले चारवटा लास ल्याइएको र एउटा त्यहाँ क्रेनमा झुण्ड्याएर बाँकी तीनवटा लास अन्य चोकतर्फ लगिएको बताएका छन् ।
सामाजिक सञ्जालमा राखिएका तस्विरहरूमा एउटा पिक अप भ्यानमा रक्ताम्य लास राखिएको र एउटा लास क्रेनमा झुण्ड्याइन लागेको देखिन्छ ।