काठमाडौं – नेपालको लोकतान्त्रिक आन्दोलनमा लामो इतिहास बोकेको पार्टी नेपाली कांग्रेसमा युवादेखि लेखापढाको आकर्षण देखिएको छ ।
किशोरावस्थाका युवाले कांग्रेसको स्थानीय नेतृत्वमा पुगेका समाचार भाइरल बनिरहेका बेला पीएचडी गरिसकेका डा. कांग्रेसको बुथ सभापति बनेको खबर सार्वजनिक भएको छ ।
कपिलवस्तु नगरपालिका–३ को बुथ सभापतिमा विद्यावारिधि (पीएचडी) गरिसकेका ३६ वर्षीय गगनकुमार सिंह निर्वाचित भएका हुन् । आज शुक्रवार वडाको सानो बर्गदवा विद्यालयमा भएको बुथ सभापतिको निर्वाचनमा सिंहले १ मतले पाका नेता निर्मलकुमार शर्मालाई हराउँदै बुथ सभापति जितेका छन् ।
सभापति निर्वाचित गगनले कूल ७७ र प्रतिद्वन्द्वी शर्माले ७६ मत पाएका छन् । कूल २२५ मतमध्ये १६२ मत खसेको छ । निर्वाचनमा ७ मत बदर भएको निर्वाचन अधिकृत बिकास बन्जाडोले जानकारी दिए ।
जापानको याकोहामा इन्टरनेसनल युनिभर्सिटीबाट २०१७ मा सेन्सर नेटवर्क विषयमा गगनले विद्यावारिधि गरेका हुन् । कपिलवस्तु नगरपालिका–३ बरन्डीहवाका गगनले आफूलाई जिताउन भाग्यसहित कडा मेहनत र रणनीतिले साथ दिएको बताएका छन् ।
राजीनीतिमा रुचि राख्ने गगनले कांग्रेसलाई सुदृढ बनाउन र पार्टीमा जनताको एजेन्डा स्थापित गराउन नै आफू राजनीतिमा लागेको बताएका छन् ।
तौलिहवाको गौढी चोकमा मार्ट पसल सञ्चालन गर्दै आएका गगनले पाटीकै विचारबाट देश चलिरहेको वर्तमान परिप्रेक्षमा पार्टीमै राम्रो एजेन्डा स्थापित नगरी देश राम्ररी चल्न नसक्ने समेत बताएका छन् । ‘कांग्रेसलाई मजबुद बनाउन र राम्रो एजेन्डा स्थापित गराउन भरपुर प्रयास गर्नेछु,’ गगनले भनेका छन् ।