धनगढी,२० साउन । चिरायु अल्ट्रासाउण्ड क्लिनिक प्रा.लि धनगढीले सुदूरपश्चिममै पहिलो पटक एम.आर. आई मेशिन सञ्चालनमा ल्याउने भएको हो ।
१२ करोडको लगानीमा जर्मनीमा उत्पादित सिमेन्स हेल्थ केयरकोको मेग्नेटोम सेम्प्रा १.५ टी मोडेलको एम. आर.आई मेशिन सञ्चालनमा ल्याउन लागेको चिरायु अल्ट्रासाउण्ड क्लिनिक प्रा.लिका अध्यक्ष अशोक राज पन्तले जानकारी दिए । मेशिन सञ्चालनमा आएपछि सुदूरपश्चिमका बिरामीले एमआरआई गर्न नेपालगञ्ज,काठमाडौँ र भारत जानु पर्ने बाध्यता हट्ने प्रा.लिले जनाएको छ ।
एम.आर.आई के हो ?
एम.आर.आइको पूरा रुप म्याग्नेटिक रेजोनेन्स इमेजिङ्ग हो । यो प्रविधिमा मानव शरीरमा रहेका पदार्थ एवं तत्वहरुको चुम्बकीय गुण प्रयोग गरि शरीरका विभिन्न अंग र भागहरुको चित्रण र विभिन्न रोग एवं अवस्थाहरुको पहिचान गरिन्छ । जस्का लागि बिरामीलाई शक्तिशाली चुम्बकीय क्षेत्रमा राख्नु आवश्यक हुन्छ । एम.आर.आइमा प्रयोग हुने चुम्बकीय क्षेत्र पृथ्वीको चुम्बकीय क्षेत्र भन्दा हजारौं गुणा शक्तिशाली हुन्छ । एम.आर.आईमा प्रयोग गरिने चुम्बकीय क्षेत्रको शक्ति टेस्ला (Tesla,T)मा नापिन्छ । सोही चुम्बकीय क्षेत्रको शक्ति अनुसार एम.आर.आइलाई 0.3T, 0.5T, 1.5T, 3T MRI भनेर नामाकरण गरिएको हुन्छ ।
एम.आर.आई के केमा प्रयोग गरिन्छ ?
एम.आर.आई मुख्य रुपमा चिकित्सा विज्ञानमा विभिन्न रोग र अवस्थाहरुको निदान र चित्रणका लागि प्रयोग हुन्छ । मस्तिष्क,मेरुदण्ड,हाड जोर्नी तथा मांसपेशी,रक्तनलीहरु लगायत नरम तन्तुहरुको परिक्षण र चित्रणका लागि एम.आर.आई पहिलो रोजाईको प्रविधि हो । यस अलावा विभिन्न खोज अनुसन्धानहरुमा पनि एम.आर.आई प्रयोग गरिन्छ ।