चितवन । नेपाली कांगेसका नेता तथा पूर्वस्वास्थ्यमन्त्री गगन थापाले प्रधानमन्त्री शेरबहादुर देउवाले चाहेमा आफू पुनः स्वास्थ्यमन्त्री बन्न तयार रहेको बताएका छन् ।
बुधबार भरतपुर विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै नेता थापाले देश महामारीसँग लडिरहेको परिस्थितिमा पनि सरकारले स्वास्थ्यमन्त्री बनाउन नसकेको आरोप लगाएका छन् ।
‘संसदमै बस भने पनि ठीक छ, सरकारमा आएर काम गर भने बकाइदा काम गरिनेछ । प्रधानमन्त्रीले फ्रि ह्याण्ड भएर काम गर्नुपर्छ,’ थापाले भने ।
अहिले गठबन्धनमा एमाले असन्तुष्ट समूहका नेता माधव नेपाल सरकारमा सहभागी हुने कुराले मन्त्रिपरिषद विस्तारमा ढिलाइ भएको पनि उनले बताएका छन् । साथै अहिलेको सरकार गठबन्धनको सरकार भएकाले आफूले मन्त्री बन्न कुनै दवाब नदिएको पनि बताएका छन् ।
साथै सरकारले न्युनतम साझा कार्यक्रम बनाएर २ ३ दिनमै मन्त्रिपरिषदले पूर्णता पाउने बताएका छन् । त्यसैगरी थापाले पार्टीका महाधिवेशन नसर्ने पनि बताएका छन् ।
‘सदस्यता विवाद देखाएर महाधिवेशन सार्न हुँदैन, केही दिन तलमाथि भए पनि पर सार्नुहुँदैन । तत्काल केन्द्रीय समिति बैठक राख्नुपर्छ, महाधिवेशन नभए कांग्रेसकै सामूहिक असफलता हुन्छ,’ उनले भने ।
सञ्चारकर्मीहरुले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेजीको बारेमा राखेको जिज्ञासमा थापाले ओलीले कार्यकर्ता भर्ती गरेकाले देउवा नेतृत्वको सरकारले खारेज गरेको पनि बताएका छन् ।
‘संसदमा छलफल नगरी आयोगमा कार्यकर्ता भर्ती गरे, त्यसैले रुने कराउने काम बेकारको हो’, उनले भने, ‘सुकुम्बासी समस्या हाम्रो पनि हो, जति छिटो यो समस्या हल गर्नुपर्छ,’उनले भने ।