KhabarUjyalo

सुदूरपश्चिममा छैन अक्सिजनको सुरसार

२० श्रावण २०७८, बुधबार
सुदूरपश्चिममा छैन अक्सिजनको सुरसार

धनगढी : सुदूरपश्चिमका प्रादेशिक र जिल्ला अस्पतालहरूमा भने अझै अक्सिजन प्लान्ट जडान गरिएको छैन। संघीय सरकार र प्रदेश सरकारले सुदूरपश्चिमका सेती प्रादेशिक अस्पताल, महाकाली अस्पताल, डडेलधुरा अस्पतालसहित नौवटै जिल्लाका अस्पताललाई प्लान्ट जडान गर्न बजेट दिएका थिए। तर, बझाङ जिल्ला अस्पतालबाहेक अरू कुनै पनि अस्पतालले प्लान्ट जडान गरेका छैनन्। कैलालीको सेती प्रादेशिक अस्पतालमा भने संघीय सरकारले लिक्विड अक्सिजन जडान कार्य सुरु गरेको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमराज पाण्डे २ हजार सिलिन्डर क्षमताको लिक्विड अक्सिजन ट्यांक जडान भइरहेको बताउँछन्।

अस्पतालमा रहेको मिनी अक्सिजन प्लान्टले महामारीका बेला २५ प्रतिशत बिरामीलाई मात्रै धानेको थियो। ‘२ हजार सिलिन्डर क्षमताको ट्यांक आइसकेको छ’, पाण्डे भन्छन्, ‘संघीय सरकारले एनआरएनले दिने भनेको ठूलो अक्सिजन प्लान्ट पनि पठाउने भनेको छ। ह्वीमिनिटि फाउन्डेसनले पनि एउटा मिनी अक्सिजन प्लान्ट जडान गरिदिने भनेको छ। यी सबै प्लान्ट जडान गर्न महिना दिन लाग्न सक्छ।’

कैलालीकै टीकापुर अस्पतालमा ३० दिनभित्र प्लान्ट जडान गर्ने सम्झौता भए पनि तीन महिना बित्नै लाग्दा पनि काम भएको छैन। प्लान्टका लागि सुदूरपश्चिम प्रदेश सरकारले ८० लाख रुपैयाँ छुट्ट्याएको थियो। त्यस्तै आर्थिक वर्षको अन्तिममा प्लान्टकै लागि भन्दै संघीय सरकारबाट ७५ लाख रकम अस्पतालमा आएको थियो। टीकापुर नगरपालिकाले २० लाख, जानकी गाउँपालिकाले १५ लाख रकम उपलब्ध गराउने प्रतिबद्धता गरेका थिए। टीकापुर अस्पतालका मेडिकल सुपरीटेण्डेन्ट डाक्टर रेमकुमार राई कोरोना संक्रमणका कारण सप्लायर्सले तोकिएको समयमा प्लान्ट जडान गर्न नसकेको बताउँछन्। 

डडेल्धुरामा पनि संघीय सरकारको साढे ३ करोड लागतमा जडान हुने भनिएको प्लान्टको काम सम्पन्न भएको छैन। ‘अबको एक सातामा अक्सिजन प्लान्ट जडान हुन्छ। दैनिक २ सय सिलिन्डर भर्न सकिने भएकाले त्यसले सुदूरपश्चिमका अरू जिल्लालाई पनि सपोर्ट हुनेछ’, मेडिकल सुपरिटेन्डेन्ट जगदीशचन्द्र विष्ट भन्छन्। अस्पतालमा दैनिक २७ सिलिन्डर अक्सिजन भर्न सक्ने प्लान्ट भए पनि त्यसले कोभिडका बेला थोरै बिरामी धानेको थियो।

बाजुरा जिल्ला अस्पतालका प्रमुख डा. प्रकाश जोशी टेन्डर खोलेर सबै प्रकृया अगाडि बढाइसके पनि सडक भत्किएकाले सामान ल्याउन नसकिएको बताउँछन्। हेल्थ कियर सप्लायर्सले आपूर्तिकोे ठेक्का पाएकोमा उसले साउनभित्र जडान गर्ने सम्झौता गरेको छ। अक्सिजन प्लान्ट खरिद भइसकेको, साउन २५ गते भित्र धनगढी पुग्ने र त्यसपछि बाजुरा कसरी ल्याउने भन्नेबारेमा छलफल भइरहेको डाक्टर जोशी बताउँछन्।

अछाममा पनि अक्सिजन प्लान्ट जडानको सुरसार छैन। चीनबाट सामग्री काठमाडौं एयरपोर्टमा आइपुगेको जिल्ला अस्पतालका डाक्टर सोनाली बाँस्कोटाको भनाइ छ। एक सातामा अछाम आइपुग्ने डा. बाँस्कोटा बताउँछिन् । संघीय सरकारबाट ७५ लाख र सुदुरपश्चीम प्रदेश सरकारबाट ८० लाख बजेट विनियोजन भएको थियो। 
प्रदेश स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्रले जिल्ला अस्पताल डोटीका लागि खरिद गरेको अक्सिजन प्लान्ट पनि जडान हुन सकेको छैन। गत आर्थिक बर्षमै जडान हुनुपर्ने भए पनि अहिलेसम्म कुनै काम नभएको हो। डोटीमा अक्सिजन प्लान्टका लागि प्रदेश सरकारले ८० लाख र संघीय सरकारले १ करोड २० लाख रकम विनियोजन गरेको थियो।
प्रदेश स्वास्थ्य आपूर्ति ब्यवस्थापन केन्द्रका निमित्त प्रमुख पदमबहादुर विष्ट अक्सिजन प्लान्ट काठमाण्डौं पुगिसकेको, आपूर्तिकर्ताले जानकारी दिएको बताउँछन्। ‘साउन महिनाभित्र जडान गरेर उत्पादन सुरु हुन्छ भनेको छ’, विष्ट भन्छन्।

कञ्चनपुरको महाकाली अञ्चल अस्पतालमा यूएनओपीएसको ४ करोड लागतमा अक्सिजन प्लान्ट बन्न लागेको छ। प्लान्ट निर्माणका लागि डेनमार्कको अक्सनिट नामक कम्पनीसँग सम्झौता भएर काम अघि बढिसकेको महाकाली अस्पतालका मेसु हरिकुमार श्रेष्ठको भनाइ छ। 
‘६१ वटा सिलिण्डर पाइपलाइनबाट सिधै बिरामीसम्म पुग्नेछन्। अथवा दैनिक ९० वटा अक्सिजन सिलिण्डर उत्पादन हुनेछन’ मेसु श्रेष्ठ भन्छन्। प्लान्ट निर्माणका लागि ८० प्रतिशत सामग्री आइपुगेको अस्पतालले जनाए पनि जडान कार्य भने भएको छैन।
जिल्ला अस्पताल बैतडी, जिल्ला अस्पताल दार्चुला र टीकापुर अस्पतालमा पनि अक्सिजन प्लान्टका लागि टेन्डर भइसकेको छ। तर, सप्लायर्सले अझै प्लान्टहरू जिल्ला अस्पतालहरूमा पुगाएका छैनन्।  अन्नपूर्ण दैनिकबाट

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo