धनगढी – महाकाली नदीमा तुइन तर्दै गर्दा बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको घटनाबारे अनुसन्धान गर्न सरकारले गठन गरेको टोली दार्चुला पुगेको छ । गृह मन्त्रालयले घटनाबारे छानविन गर्न सचिव जनार्दन गौतमको संयोजकत्वमा गठन गरेको समिति मंगलबार राति दार्चुला पुगेको हो।
महाकाली तुइन प्रकरणको सत्यतथ्य पत्ता लगाएर १० दिनभित्र प्रतिवेदन पेश गर्न भन्दै गृह मन्त्रालयका सहसचिव जनार्दन गौतमको नेतृत्वमा ५ सदस्यीय अनुसन्धान टोली गठन गरिएको छ ।
छानबिन समितिमा नेपाल प्रहरीका नायब महानिरीक्षक पुरुषोत्तम कँडेल, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक हुतराज थापा, सशस्त्र प्रहरी बलका प्रहरी वरिष्ठ उपरीक्षक सुरेशकुमार श्रेष्ठ र जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी ज्योत्सना भट्ट सदस्य रहुनभएको छ ।
दार्चुलाको व्यासबाट भारतको पिथौरागढको बाटो हुँदै जिल्ला सदरमुकाम जान लागेका स्थानीय ३३ वर्षीय युवा जयसिंह धामी केही दिनअघि वेपत्ता भएका थिए । अस्थायी तुइनबाट पिथौरागढको बाटो हुँदै सदरमुकाम जान लागेका उनलाई तुइन तर्दै गर्दा भारतीय सिमा सुरक्षा बल एसएसबीले तुइन काटिदिएर ‘हत्या’ गरिदिएको आरोप लागेको छ ।