KhabarUjyalo

सुदूरपश्चिम प्रदेशमा नमूना परीक्षण गराउने कम हुँदा संक्रमण पनि घट्यो

१९ श्रावण २०७८, मंगलवार
सुदूरपश्चिम प्रदेशमा नमूना परीक्षण गराउने कम हुँदा संक्रमण पनि घट्यो

धनगढी । सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण गराउनेक्रम घट्दै जाँदा यो रोगको संक्रमण हुने दरसमेत कम देखिएको छ । स्वास्थ्य निर्देशनालय दिपायलका निर्देशक डा.गुणराज अवस्थीले नमूना परीक्षण गराउने घट्दै जाँदा संक्रमण हुने दर पनि घटेको देखिएको बताए । 

उनले भने, ‘‘प्रदेशमा हाल कोरोना संक्रमणको अवस्था बढेको पनि छैन, घटेको पनि छैन । संक्रमण थप फैलिने जोखिम यथावत् छ ।’ प्रदेशमा पछिल्लो पन्ध्र दिनमा लक्षण देखिएका शङ्कास्पद नौ हजार ३४९जनाले मात्र नमूना परीक्षण गराएका छन् । यीमध्ये ६१७ जनामा कोरोनाको संक्रमण देखिएको छ । 

सो अवधिमा ४७६ संक्रमित उपचार व्यवस्थापनपछि घर फर्किए । दुई जनाको मृत्यू भएको छ ।  सक्रिय संक्रमण बिरामी घटेका छन् । पन्ध्र दिनअघि ५३६ सक्रिय संक्रमण रहेकोमा आज ४३८ जना पुगेका छन् । गएको जेठ महीनासम्म उच्च रहेको कोरोना भाइरसको संक्रमण र मृत्यु दर असार महीना सुरु भएसँगै घटेको देखिएको छ ।

कोरोना भाइरस फैलिएयता प्रदेशमा आजसम्म नमूना परीक्षण गरिएका जम्मा दुई लाख ८८ हजार ३३३ जनामध्ये ४५ हजार १३३ मा संक्रमण देखिएको छ । नमूना परीक्षण गरिएको सङ्ख्या प्रदेशको कूल जनसङ्ख्याको झण्डै ११ प्रतिशत हो ।  पिसिआर पद्धतिबाट गरिएको नमूना परीक्षणमा संक्रमित हुनेमध्ये ३५ हजार ७८४जना उपचारपछि घर फर्किए । निको हुने यो दर झण्डै ७९ प्रतिशत हो । एन्टिजेन पद्धतिबाट संक्रमण पत्ता लागेर उपचार व्यवस्थापनपछि घर फर्किएकाको विवरण भने निर्देशनालयसँग छैन ।

नमूना परीक्षण गराउने बढ्दा संक्रमण पनि बढ्नसक्ने स्वास्थ्यकर्मीको भनाइ छ । ‘‘तेस्रो लहरको कारोना आएमा त्यसले बालबालिकालाई बढी असर पुर्याउने भन्ने छ’, डा.अवस्थीले  भने । 

भर्खर

खबर उज्यालो मिडिया प्रा. लि.

सूचना तथा प्रशारण विभाग दर्ता नं.: ३६३८/०७९–८०
सम्पादक : डि आर पनेरु
धनगढी कैलाली, सुदूरपश्चिम नेपाल
मोबाइल : ९८४८५४५७४७
ईमेल : khabarujyalo97@gmail.com

All Rights Reserved © Khabar Ujyalo