काठमाडौं । विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रले ल्याएको प्रस्तावको विपक्षमा संयोजक मिलन पाण्डेसहितका नेताहरुले अर्को प्रस्ताव आएको छ ।
पाण्डेसहित केन्द्रीय सचिवालय सदस्य डा.राजेन्द्र पंगेनी, केशव दाहाल र रञ्जु दर्शनाको नामबाट नयाँ प्रस्ताव सार्वजनिक गरिएको हो ।
‘वैकल्पिक राजनीतिको मूल बाटो’ शीर्षकको प्रस्तावमा अध्यक्ष मिश्रको धारणाले वैकल्पिक राजनीतिलाई गलत दिशामा लैजाने जिकिर गरिएको छ र गणतन्त्रको सुदृढीकरण, धर्मनिरपेक्षताको रक्षा र संघीयतामा सुधारको अपेक्षा गरिएको छ ।
यस्तै तीनै तहका सरकारमा प्रत्यक्ष निर्वाचित कार्यकारी र उत्कृष्टताको आधारमा बन्ने गैर-संसद सदस्यको मन्त्रिमण्डलको शासकीय व्यवस्थामा जानुपर्ने उनीहरूको प्रस्ताव छ ।
‘पात्रहरुको अक्षमताले प्रणालीलाई दोष देखाएर नागरिकको अवस्था बदल्न बनेको पार्टीलाई पुनः व्यवस्था परिवर्तनको नाममा अन्त्यहीन अस्थिरताको खेलमा लैजान सक्दैनौं,’ प्रस्तावमा भनिएको छ ।
मिश्रले ११ साउनमा संघीयता खारेजी र धर्मनिरपेक्षताको विषयमा जनमत संग्रह हुनुपर्ने मागसहितको प्रस्ताव सार्वजनिक गरेका थिए । तर उक्त प्रस्तावमा मिश्रले पार्टीमा आफ्नो पद उल्लेख गरेका थिएनन् ।